बाँझो जग्गा उपयोग गरे अनुदान – मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी गाउँपालिका कार्यालय , मक्रान्चुली

मकवानपुरगढी । विगत ५ वर्ष देखि बाँझो रहेको खेतीयोग्य जमिन उपयोग गरे अब मकवानपुरगढी गाउँपालिकाले अनुदान उपलब्ध गराउने भएको छ । “संशोधन बाँझो जग्गा उपयोग सम्बन्धि कार्यविधि , २०७५ ” बमोजिम अनुदान उपलब्ध गराउन लागिएको गाउँपालिकाले जनाएको छ ।

विश्वब्यापी रूपमा फैलिदै गएको नोभेल कोरोना भाइरस रोगको संक्रमणलाई न्यूनीकरण गर्न नेपाल सरकारले गत २०७६ चैत्र ११ गते देखि नै गरेको लकडाउन अर्थात् बन्दाबन्दीको प्रभावबाट उत्पन्न हुनसक्ने अनिकाल एवम् खाद्य संकटबाट यस गाउँपालिकालाई बचाउन यस्तो कार्यक्रम ल्याइएको पालिकाले प्रकाशित गरेको सुचनामा जनाइएको छ ।

बाँझो जग्गामा आंप ,लिची , केरा , कटहर , कागती तथा अन्य फलफूल खेती गरेमा प्रति रोपनी २ हजार त्यसैगरी अन्नवालि , तरकारीवालि , नगदेवाली तथा मसलेदार खेती गरेमा प्रती रोपनी २५ सय अनुदान उपलब्ध हुनेछ । विपन्न तथा मजदुर घरपरिवारले आफ्नो स्वामित्वमा रहेको बाँझो जमिन वा अरु कुनै ब्यक्तिबाट बाँझो जग्गा भाडामा वा लिजमा लिइ अन्नवाली , तरकारीवाली , फलफुल तथा मसलेदार खेती गरेमा प्रती रोपनी ३ हजार , सुधारिएको गोठ वा खोर निर्माण गरि घाँस लगाई व्यवसायिक पशुपालन गरेमा पनि प्रती रोपनी ३ हजार नै अनुदान उपलब्ध हुनेछ । यसैगरी बाँझो जग्गामा ३० वटा बाख्रा वा ५ वटा गाई वा भैंसी वा १० वटा बंगुर पाल्नेगरी खोर वा गोठ निर्माण गर्न स्टमेट र मुल्यांकनको आधारमा बढीमा १ लाख , माछा पालन गर्नका लागि प्रती रोपनी पोखरी निर्माण गरि प्रयोगमा ल्याएमा १५ हजार , मौरी पालन गर्न प्रती घार ५ हजार , ब्यवसायिक जडिबुटी खेती गर्नका लागि प्रती रोपनी ५ हजार र सामुहिक खेती गर्न चाहने ब्यक्तिहरुलाई समेत शर्त बमोजिम अनुदान उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।

कार्यविधि बमोजिम खेतीयोग्य जमिन बाँझो राखेमा त्यस्तो बाँझो राखेको जमिनको गाउँ सभाबाट अनुमोदन हुने गरि भुमिकरमा वृद्धि गरिने तथा त्यस्ता बाँझो जग्गा स्वामित्वमा भएको ब्यक्तिलाई गाउँपालिकाले प्रदान गर्ने अनुदानका कार्यक्रममा सहभागी नगराउने साथै गाउँपालिकाले उपलब्ध गराउने सेवाबाट समेत बन्चित गर्ने , अटेर गरि बाँझो राखेको जग्गालाई कुनै जग्गा नभएको मोहिले त्यस्तो जग्गा कमाउन चाहेमा कमाउने प्रयोजनका लागि त्यस्ता ब्यक्तिलाई उपलब्ध गराउने र कसैले आफ्नो स्वामित्वको जग्गा कमाउन नसकेमा त्यस्तो बाँझो जग्गा गाउँपालिकाको भुमी बैंकमा जम्मा गर्नुपर्ने समेत गाउँपालिकाले सूचनामा उल्लेख गरेको छ ।


Flash News अर्थ विचार समाचार स्थानीय