कोरोना भाइरसको संवेदनशिलतालाई ध्यान दिएर एसइइ परीक्षा चलाइने ।।

सरकारले भोलीदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइइ नरोक्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले हिजो अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएकाले एसइइ नरोक्ने स्पष्ट पार्नुभएको हो । यसै महिनाको ६ देखि १७ गतेसम्म हुने परीक्षामा देशभरका कुल चार लाख ८२ हजार दुई सय १९ परीक्षार्थी सहभागी हुनेछन् । त्यसका लागि एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको छ । पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको मन्त्री पोखरेलले बताउनुभएको छ । विद्यार्थीलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि सात सय ५३ वटै स्थानीय तहलाई अनुरोध गरिसकिएको उहाँले बताउनुभयो । मन्त्रालयले शैक्षिक सत्र २०७७ को निम्ति तत्काल कुनै विद्यालयले नयाँ भर्ना नलिन पनि अपिल गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम तथा सन्त्रास बढिरहेको हुँदा चालू वर्षको परीक्षा सकिएलगत्तै भर्ना नखुलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अपिल गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup