भरतपुरमा ७२ घन्टामा ‘कोरोना विशेष अस्पताल’ बनाइने

कोरोना भाइरस (कोभिड–१९) बाट हुन सक्ने संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याउने भएको छ । ७२ घन्टामा पूर्णरूपमा सञ्चालनमा ल्याइने अस्पतालमा १० आइसियु, १० हाई डिपेन्डेन्ट युनिट र ५० वटा जनरल गरी ७० वटा बेड रहनेछन् । अस्पताल बनाउन आवश्यक पर्ने उपकरण तथा सामग्री भरतपुर महानगरपालिका, उद्योग संघ, उद्योग वाणिज्य संघलगायतले उपलब्ध गराउने भएका छन् ।

महानगर प्रमुख रेणु दाहालको संयोजकत्वमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि गठन गरिएको कार्यदलले चितवन उद्योग संघ भरतपुरको प्रदर्शनी केन्द्रलाई ‘भरतपुर कोरोना विशेष अस्पताल’ बनाउने निर्णय गरेको हो । चितवन उद्योग संघले निर्माण गरेको प्रदर्शनी केन्द्र चारैतिर पर्खालले घेरिएको र पर्याप्त स्थान भएकाले प्रदर्शनी केन्द्रलाई अस्पतालका लागि छनोट गरिएको दाहालले जानकारी दिइन् ।

सबै अस्पताललाई आफ्नै आइसोलेसन वार्ड खडा गरी उपचार प्रदान गर्न कार्यदलले निर्देशन दिएको छ । तत्काल प्रकोपको वेलामा प्रदर्शनी केन्द्र प्रयोगमा ल्याइने भए पनि थप स्थानको खोजी भइरहेको उनको भनाइ छ । महानगरका विभिन्न अस्पतालमा स्क्रिनिङ गराउँदा कोरोना भाइरसको आशंका गरिएका बिरामीलाई थप उपचारका लागि कोरोना विशेष अस्पतालमा पठाइने छ ।

कोरोना संक्रमित व्यक्तिको उपचारका क्रममा सहजता होस् भन्नका लागि कार्यदलले चिकित्सकहरूको पनि कार्यविभाजन गरेको छ । कोरोना भाइरसको नमुना परीक्षण टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा मात्रै हुने गरेकोमा भरतपुरमै नमुना परीक्षण गर्न मिल्ने व्यवस्था मिलाइदिन कार्यदलका सदस्यसमेत रहेकी महानगर प्रमुख दाहालले सरकारलाई आग्रहसमेत गरेकी छिन् ।

भरतपुर अस्पतालमा अहिलेसम्म कोभिड–१९ को संक्रमण भएको आशंकामा चारजना व्यक्तिको नमुना परीक्षण गरिएको छ । तर, परीक्षण गराएका सबैमा कोरोना संक्रमण नदेखिएको अस्पतालले जनाएको छ ।

#nayapatrika bata

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup