मकवानपुरगढी गाउँपालिकामा कोरोना विरुद्धको अभियानलाई थप प्रभावकारी बनाइने

मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाँई


मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिकामा कोरोना विरुद्धको अभियानलाई थप प्रभावकारी बनाइने भएको छ ।

गाउँपालिका अध्यक्ष विदुर हुमागाँईको अध्यक्षतामा गाउँपालिका कार्यालय मक्रान्चुलिमा हिजो बसेको पालिका स्तरीय कोभिड १९ नियन्त्रण समन्वय समितिको बैठकले अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण विषयमा छलफल गरिएको र ती विषयहरु गाउँ कार्यपालिका समक्ष पेश गर्ने समेत निर्णय भएको छ ।

गाउँपालिका भित्र छिर्ने नाकाहरुबाट मर्निङ्वाक , आफन्त भेटघाट , तरकारी , फलफुल , लोकल कुखुरा , खशीबोका किन्ने निहुँ गरेर बाहिरी मानिसहरु आइरहेकाले वडा वडामा गठन गरिएका विभिन्न टोलविकास समितिहरुलाई सकृय गराई तथा आवश्यक परेमा सुरक्षाकर्मीहरुसँग समेत समन्वय गरि त्यस्ता गतिविधिहरुलाई निरुत्साहित पार्ने गरि व्यापक छलफल गरिएको छ ।

हाल सम्म गाउँपालिका भित्र बसोबास गरिरहेका कसैलाई पनि कोरोना संक्रमण नभएको र भोलिका दिनमा पनि संक्रमण हुन नदिन सुरक्षाका सबै उपायहरू अपनाउन समेत सुझाव पेश गरिएको छ । साथै स्वास्थ्यकर्मी , सुरक्षाकर्मीहरुलाई आवश्यक पर्ने सामाग्रीहरुको उपलब्ध गराउन समेत सुझाव दिइएको छ ।

लकडाउन अवधिमा विभिन्न अत्यावश्यक सामानहरु खाद्यान्न , रासायनिक मल लगायतकाको कालोबजारी हुन सक्ने भन्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न तथा आवश्यक परेमा सम्बन्धित ब्यक्तिहरुलाई कार्वाही गर्न समेत सुझाव पेश गरिएको छ ।

साथै पालिका क्षेत्र भित्र उत्पादन भएका कृषिजन्य सामाग्रीहरु विशेष गरि दुध तथा तरकारीलाई सुरक्षित तरिकाले बिक्री वितरणका लागि सम्बन्धित पक्ष सँग समन्वय गर्न , राहत वितरण प्रक्रियालाई खाद्यान्न सुरक्षाको नीति अपनाउँदै प्रभावकारी बनाउन सुझावहरु पेश भएका छन् । प्राप्त भएका महत्वपूर्ण सुझावहरुलाई गाउँ कार्यपालिकाको बैठकमा पेश गरि आवश्यक निर्णय गरिने गाउँ पालिका अध्यक्ष हुमागाँई बताउनु भएको छ ।

Flash News अर्थ राजनीति रोचक समाचार स्थानीय