मकवानपुरगढी गाउँपालिका अन्तर्गत सामरीखोलामा निर्माण हुन लागेको बेलिब्रीजको सिलान्यास

मकवानपुरगढी । साविक आमभन्ज्याङ गाविस तथा हालको मकवानपुरगढी गाउँ पालिका अन्तर्गतको ५ र ६ नं वडाका बासिन्दाहरुलाई प्रशासनिक अड्डा गाउँ पालिका कार्यालय आवतजावत गर्न अत्यन्तै छोटो र सजिलो बाटो हुने ठानिएको सो मोटरबाटो खण्डमा पर्ने वडा नं ३ को मगरडाँडा र वडा नं ६ को बाग्दली जोड्ने सामरीखोलामा बन्न लागेको बेलिब्रीजको आज गाउँपालिका अध्यक्ष विदुर हुमागाँईले सिलान्यास गर्नुभएको छ ।



संघिय तथा स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको सो पुलको लम्बाई करिब ८० मिटरको हुने र सो पुलबाट २५ टन सम्मको गाडी आवतजावत गर्न सक्ने क्षमताको हुने वडा नं ३ का वडा अध्यक्ष भागवत घिमिरेले बताउनु भएको छ ।



सामरीखोलामा कुनै पनि पुल नभएका कारण बर्षायाममा गाउँपालिका आवतजावत गर्न हेटौंडा हुँदै घुमाउरो बाटो प्रयोग गर्न बाध्यता भइरहेको अवस्थामा यस पुलको निर्माण पश्चात् निकै नै सहज हुने वडा नं ६ का वडा अध्यक्ष टीका प्रसाद दाहाल बताउनु हुुुन्छ । निकै नै पहिला देखि सो स्थानमा पुलको आवश्यकता महसुस भइरहेकोमा पुलको निर्माण शुरु भएपछि आमभन्ज्याङ बासी अत्यन्तै हर्सित भएको वडा अध्यक्ष दाहालको भनाई रहेको छ ।


संघीयता सँगै स्थानीय तह गठन भए पछि गाउँ पालिकाको बिच भाग भएर बग्ने यस सामरीखोलामा यो बेलिब्रीजका साथै अरु २ वटा पक्की पुल एवम् झोलुङ्गे पुल समेत निर्माणाधीन अवस्थामा रहेका कारण समग्र पालिकाको विकासमा सहज हुने गाउँपालिका अध्यक्ष विदुर हुमागाँईले बताउनु भएको छ ।



यसै आर्थिक बर्षको असार सम्ममा पुलको पिल्लर निर्माणको काम सम्पन्न गर्ने र आगामी आर्थिक बर्षको शुरुमा नै पुलको सम्पुर्ण भागको निर्माण गरि तुरुन्त संचालन गर्ने लक्ष्य राखि निर्माणलाई तिब्रता दिईने बताइएको छ ।

पुल सिलान्यास कार्यक्रममा वडा नं ३ र ६ का वडा अध्यक्षका साथै विभिन्न टोलविकासका अध्यक्ष एवम् स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup