
मकवानपुरगढी । विश्वभर फैलिएको प्राणघातक रोग कोभिड १९ अर्थात् कोरोना भाइरसको संक्रमण बाट बच्न नेपालले गत २०७६ चैत्र ११ गतेबाट लगाएको लकडाउनका कारण कुखुरा पालन ब्यवसाय अस्तब्यस्त भएको जनाउँदै मकवानपुरगढीमा रहेका कुखुरा पालक किसान तथा ब्यवसायीले आज गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
गाउँपालिका भरिमा करिब २ सय जना किसान यस पेशामा आबद्ध भएको र लकडाउनका कारण कुखुरा र अण्डाको मूल्य अत्यधिक घटेको तथा अझै बिक्री नै नहुने अवस्थामा पुगेका कारण करिब १५ करोडको लगानी जोखिममा रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
संक्रमणकाल अवधिभरको बैंक ब्याज मिनाहाका लागि पालिकाले सिफारिस गरिदिनु पर्ने , सरकारी तवरबाट पालिका भरिमा रहेका लेयर्स तथा बोईलर कुखुराको विवरण संकलन गरि राहत उपलब्ध गराउन माग गर्दै कुखुराको लागि चाहिने आवश्यक दाना किसानले प्राप्त गर्न नसकेको र उत्पादन भएको अण्डा , कुखुराका चल्ला समेत बिक्री हुन नसक्दा नस्ट गर्नु बाहेक अन्य विकल्प नभएका कारण पालिका बाट वितरण गरिने राहत कार्यक्रममा पोल्ट्रीजन्य उत्पादनलाई पनि समावेश गर्नुपर्ने माग गरिएको छ ।
पोल्ट्रीजन्य वस्तु आयात निर्यातमा सहजीकरण गर्दै सामान ढुवानी गर्ने सवारी साधनलाई सेनेटाइजर गर्ने ब्यवस्था मिलाउनु पर्ने , पालिका सिल भएको अवस्थामा ब्यवसाय सुचारु राख्न सहजीकरण गर्नुपर्ने , आव २०७७/०७८ को बजेटमा पोल्ट्री ब्यवसायका लागि विशेष अनुदानका कार्यक्रम ल्याउन समेत माग गरिएको छ ।
मकवानपुर कुखुरा संघका सचीव गम्भिरराज न्यौपाने र सह-कोषाध्यक्ष प्रकाश दहाल द्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्र बुझाउन उहाँहरु लगायत अन्य कुखुरा ब्यवसायिहरुको समेत उपस्थिति रहेको थियो ।
