
हेटौंडा – मकवानपुरको बागमती गाउँपालिकामा चौथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । आइतबार बागमती गाउँपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गोल्डकपको चौथो संस्करण चैत १३ गते देखि २२ गतेसम्म हुने आयोजकले जनाएको छ । यस पटकको प्रतियोगितामा पुरस्कार राशी समेत बढाइएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई आठ लाख र दोस्रो हुने टिमलाई चार लाख रुपैंयासहित शिल्ड, प्रमाणपत्र दिईने बागमती खेलकुद विकास समितीका अध्यक्ष भिम बहादुर राइले बताए । प्रतियोगितामा ७७ लाख ४५ हजार रुपैंया खर्च हुने अनुमान गरीएको छ ।
ए डिभिजन र मोफसलका टिमसहित १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५१ हजार तथा विधागत उत्कृष्ट खेलाडी ६ विधामा जनही १० हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पाँच हजार रुपैंयासहित मेडल र प्रमाणपत्र दिईने अध्यक्ष राईले बताए ।
प्रतियोगितामा ए पि एफ क्लब काठमाडौ,नेपाल पुलिस क्लब काठमाडौ, च्यासल युवा क्लब ललितपुर,संकटा युवा क्लब काठमाडौ, जाउलाखेल युवा क्लब , मछिनन्द्र क्लब , बागमती युवा क्लब , नव जनता जागृती युवा क्लब , थ्री स्टार युवा क्लब , हेटौंडा ११ हेटौंडा सहभागी हुन सक्ने आयोजकले बताएको छ ।