भीमफेदी कारागारका तीन सय ५५ कैदीबन्दीमा कोरोना

१५ श्रावण २०७८, शुक्रबार

मकवानपुरमा रहेको भीमफेदी कारागारका तीन सय ५५ जना कैदीबन्दीलाई कोरोना पुष्टि भएको छ। बिहीबार गरिएको एन्टिजेन परिक्षणमा कारागारका तीन सय ५५ जनाको रिपोर्ट पोजेटिभ आएको हो। हाल कारागारमा ९ सय ६९ बन्दी छन्।

कारागारमा रहेर अन्यत्र सरुवा भई गएका कर्मचारीमा कोरोना पुष्टि भएपछि उनीहरूको पनि एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको कारागार प्रमुख नारायण पाण्डेले बताए। पाण्डेका अनुसार कोरोना पुष्टि भएका सबै कैदीको स्वास्थ्य अवस्था सामान्य नै छ। उनीहरूलाई कारागारभित्रै आइसोलेट गरेर राखिएको पाण्डेले जानकारी दिए।

कारागारमा दुई जना अहेवको दरबन्दी रहे पनि हालसम्म उपस्थित नभएका उनले बताए। उनका अनुसार स्वास्थ्य क्षेत्रमा अध्ययन गरेका कैदीबन्दी पनि कारागारमा रहेकाले हाल उनीहरूलाई नै स्वास्थ्यकर्मीको रुपमा परिचालन गरिएको छ।

कारागारमा अक्सिजनको पनि व्यवस्था गरिएकाले तत्काल आवश्यक परेको खण्डमा समस्या नहुने उनको भनाइ छ। अस्पताल नै लैजानुपर्ने अवस्था आए पनि कारागारमा एउटा बसको व्यवस्था रहेको पाण्डेले बताए। जनपत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup