लकडाउनले दुग्ध उत्पादक किसानलाई समस्या

मकवानपुर – COVID 19 अर्थात कोरोना भाइरसको संक्रमण फैलिने जोखिमको डरले सरकारले देश भर चैत्र ११ गते देखि चैत्र १८ गतेसम्मको लागी लकडाउन गर्दा त्यसको प्रत्यक्ष असर भने दुग्ध उत्पादक किसानहरुलाई परेको छ ।

सरकारले अत्यावश्यक सामाग्री अन्तर्गत दुधलाई राखेपनी बजारमा पर्याप्त दुध खपत नहुँदा दुग्ध उद्योगहरुले किसानहरुबाट उत्पादन भएको दुग्ध खरिद गर्न सकिरहेका छैनन् । मकवानपुर जिल्लामा उत्पादन भएको अधिकांश दुध सहकारी मार्फत कारोबार हुने गरेको छ ।

सहकारीले दुग्ध संकलन बन्द गरेपछि ब्यवसायिक हिसाबले फर्म खोली धेरै दूध उत्पादन गरिरहेका किसानलाई धेरै नै समस्या परेको मकवानपुरगढी गाउँपालिका वडा नं. – ३ मा रहेको देविडाँडा गाई फर्मका संचालक प्रेमप्रसाद दाहाल बताउँछन् । दुध बिकेन अनि उत्पादन भएको दुध भण्डारण गरेर राख्ने संभावना पनि छैन तसर्थ दुध दोएर पोखिदिनुको विकल्प भएन उनको गुनासो छ । उनले अहिले दैनिक १०० लिटर दुध उत्पादन गरिरहेका छन् ।
कति दिन बन्द हुने हो ठेगान छैन तसर्थ कतिपय किसानहरु भने दुधको विविध परिकार बनाएर केही दुध खपत गर्ने योजनामा छन् । त्यसो गर्दा उत्पादन भएको केही दुधको ता संवोधन होला तर उत्पादन भएको परिकार घरमा खपत गरेर पनि नसकिने अनि बजारमा बिक्री गर्ने संभावना पनि नभएको हुँदा समस्याको समाधान नहुने किसानहरु बताउँछन् ।

मकवानपुरगढी गाउँपालिका भित्र मात्रै अहिले करिब दैनिक २० हजार लिटर दुध उत्पादन भइरहेको छ भने मकवानपुर जिल्ला भरिमा सहकारी मार्फत दैनिक उत्पादन करिब ४० हजार लिटर भएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका ब्यवस्थापक कुमारमणी दाहालले बताउनु भयो ।
रोगको संक्रमण नफैलियोस भनेर एक सातालाई सरकारले गरेको लकडाउन छिमेकी देश भारतले हिजोका मिति देखि अर्को २१ दिन थप गरेको छ तसर्थ नेपालमा पनि केही संक्रमित फेला पर्न थालेकाले लकडाउनको समय थप हुनसक्ने आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin