वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाउनुभएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेश सभामा पेस गरेको विश्वासको मतको पक्षमा बहुमत पुगेकाले प्रदेश सभाको विश्वास रहेको सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो ।
प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत खसेको हो । त्यस्तै उहाँको विपक्षमा ४३ मत खस्दा दुई मत तटस्थमा खसेको छ ।
नेकपा एकीकृत समाजवादी पार्टी वाग्मती प्रदेश संसदीय दलका नेता पाण्डे चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन थियो ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यही बाध्यात्मक परिस्थितिका कारण मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुभएको हो ।