मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन लागु भएको स्थानीय तहको रुपमा घोषणा गर्न तथा यस अभियानमा सहभागी हुन सरोकारवालाहरुले सामूहिक प्रतिवद्धता व्यक्त गरेका छन् ।
मकवानपुरगढी गाउँपालिकाका संघसंस्था, सम्बन्धित सरोकारवालाहरूले बालमैत्री स्थानीय शासन अभियानको प्रक्रियागत कार्यान्वयन, घोषणा तथा दीगोपनका लागि आ–आफ्नो कार्य प्रक्रियामा समायोजन गरी बालमैत्री पद्वतीको माध्यमले समाज रूपान्तरणको महाअभियानलाई सफल बनाउँने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।
बुधबार पालिकामा आयोजना गरिएको अन्तरक्रिया एवम् प्रतिवद्धता कार्यक्रममा गाउँपालिका अध्यक्ष विदुर हुमागाई, वडा नम्बर ५ का अध्यक्ष जीतबहादुर घिमिरे, गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत रामकुमार पुडासैनीलगायत सरोकारवालाहरुले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले भौतिक विकासको पाटोलाई मात्रै महत्व दिने परीपाटीको अन्त्य हुनुपर्ने बताए । ‘भौतिक विकासलाई मात्रै विकास मानिदैन, भौतिक विकासको पाटो एकातिर छ, तर सामाजिक विकास र आर्थिक विकासको पाटोमा नसोचे शुसासन युक्त विकास संभव छैन’ हुमगाईले भने ‘सामाजिक विकास अन्तरगत बालमैत्री शासन धेरै महत्वपूर्ण पाटो हो ।’
बालमैत्री शासन किन भन्ने बुझाउने काम लगभग सकिएको र बालबालिकामाथिको लगानी सयौं बर्षको लागि लगानी हुने उनले बताए । बालमैत्रीमा गरेको लगानीले विकासका अरू अभियानलाई समेत दीगो बनाउने उनले बताए । आगामी माघको अन्त्यसम्म मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन लागु भएको स्थानीय तहको रुपमा घोषणा गर्ने कार्यक्रम रहेको बताउँदै अध्यक्ष हुमगाईले भने ‘ थोरै समयमा धेरै काम गर्न बांकी छ, सबैको समूहिक साथ चाहिन्छ ।’
गाउँपालिकामा हुने गरेको बाल बिबाह,बाल श्रम जस्ता कुराहरु अझै चुनौतीपूर्ण रहेको उनले बताए । चाँडो बिहे गर्दा आउने गम्भीर समस्याबारे अभिभावकले जानकारी गराउन पर्ने उनले बताए । ‘बाल विवाह विरुद्धको कानून बनिसक्यो अब चर्चामात्रै हैन, गम्भीर हुनुपर्छ’ उनले भने ।
कार्यक्रममा गाउँपालिकाको प्रमुख कार्यकारी अधिकृत रामकुमार पुडासैनीले गत २०७७ माघ १९ बाट सुरू भएको अभियान कोभिडको कारण केही समय रोकिए पनि निरन्तर काम भैरहेको बताए । बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि हाल ५१ वटा सूचक पुरा गरेको हुनुपर्ने पुडासैनीले बताए ।
कार्यक्रममा कार्य पत्र पस्तुत गर्दै पुडासैनीले भने ‘‘बालबालिका समस्या सामाधानको लागि चाहिने स्रोत हुन्, उनीहरु माथि खर्च गरेको हैन लगानी गरेको सम्झनु पर्दछ ।’ गाउँपालिकामा बाल विवाह, बाल प्रेम विवाह, बाल श्रम, जातीय तथा लैङ्गिक विभेद, घरेलु हिंसा, यौन शोषण, शारीरिक तथा मानसिक हिंसा, बेचबिखन तथा ओसारपसार जस्ता कुरीतिहरु चुनौतिको रुपमा रहेको पुडासैनीले बताए ।
कार्यक्रममा सिविन बाल हेल्प लाइन मकवानपुरका प्रमुख झबिन्द्र ज्ञवलीले चुनौतिहरुलाई चिर्दै बालअधिकारको सवाल प्रत्याभुत गराउनु पर्ने बताए । ‘जन्मदर्ता नहुदा आईपर्ने समस्या यावत् छन्, सबै बालबालिकाको जन्मदर्ता हुनुपर्छ’ उनले भने ।
मकवानपुरगढी गाउँपालिका वडा ५ अध्यक्ष जितबहादुर घिमिरेको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । ‘मोबाइलको कारण बाल बिबाह बढाएको छ, सहकारी र टोल बिकासले बालमैत्रीको लागि महत्वपूर्ण योगदान गर्न सक्छ र गर्नुहुने छ भन्ने अपेक्षा हामीले गरेका छौ’ अध्यक्ष घिमिरेले भने ।
कार्यक्रममा बालमित्री अभियानको फोकल पर्सन रामप्रसाद दाहाल, अधिकारकर्मी कविराज हुमगाई, स्थानीय सहकारी, बालक्लब, आमा समूह, टोल विकासलगायतको प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।