मकवानपुरगढी बालमैत्री गाउँपालिका घोषणाकालागि सिफारिस माग

३०फाल्गुन २०७८- मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बालमैत्री गाउँपालिका घोषणा स्वीकृतिका लागि जिल्ला समन्वय समिति मकवानपुरसंग सिफारिस मागेको छ । सोमबार जिल्ला समन्वय समिति मकवानपुरलाई गाउँपालिकाले गरेका कार्यप्रगतिको प्रतिवेदन र नीतिगत दस्तावेजसहित बागमती प्रदेश सरकारलाई स्वीकृतिका लागि सिफारिस गरिदिन माग गरेको हो ।

गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले जिसस प्रमुख रघुनाथ खुलाललाई गाउँपालिकाले बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका गर्ने लक्ष्यका साथ कार्यप्रकृया अगाडी बढाएको हुँदा सोको अनुगमन गरि बालमैत्री स्थानीय शासन कार्यानव्यन निर्देशिका २०७८ बमोजिम प्रदेश सरकारलाई सिफारिस गरिदिन आग्रह गर्नुभयो । सो क्रममा उहाँले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनिति तथा कार्यान्वयन कार्यविधि २०६८ र घोषणा कार्यविधि २०७० र बालमैत्ती स्थानीय शासन निर्देशिका २०७८ बमोजिम आवश्यक ५१ व्टा सुचक मध्ये ४० वटा सुचक शत प्रतिशत र ११ वटा सुचक ८० देखि ९७ दशमलव ९७ प्रतिशतसम्म पुरा भएको बताउनुभयो ।

सो प्रतिवेदन बुझ्नुहुँदै प्रमुख खुलालले स्थानीय तहमा अनुगमन पश्चात मात्र सिफारिस गर्ने बताउनुभयो । उहाँले उपप्रमुखको नेतृत्वमा ५ सदस्य अनुगमन समिति समेत गठन गरेर तुरुन्त अनुगमन सुरु गर्न समेत निर्देशन गर्नुभएको छ । आगामी चैत्त १२ गते घोषणा गर्ने तयारी भएकाले यथासक्य छिटो अनुगमन गरेर विवरण पेश गर्न उहाँले निर्देशन गर्नुभयो । साथै उहाँले घोषणा मात्र ठुलो कुरा नभएकाले त्यसको दिगोपनका बारेमा समेत ख्याल गर्न गाउँपालिकालाई सुझाव दिनुभयो । गाउँपालिकाले ५ वर्षे रणनितिक योजनाका साथ काम अगाडी बढाएर आगामी चैत्र १२ गते बालमैत्री युक्त गाउँपालिका घोषणा गर्ने तयारी गरेको छ । मकवानपुरगढी मकवानपुरमा बालमैत्री घाेषाणा हुने तेस्राे गाउँपालिका हुनेछ । शाझा सन्देशबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup