
कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर अस्तिदेखि लागु हुनेगरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश मकवानपुरमा अपेक्षाकृत रूपमा पालना भएको छ ।
पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकाङ्श घरभित्रै बसेकाले शान्ति सुव्यवस्था कायम गर्न सहज भएको सुरक्षा निकायले जानकारी दिएको छ ।
ग्रामीण भेगको तुलनामा सहरी क्षेत्रमा भने सडकमा मानिसको ओहोरदोहोर प्रायः शून्य जस्तै देखिएको छ । सरकारले औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ ।
अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन चलेका छैनन् । केहीले अत्यावश्यक काम विशेषले चलाएका निजी सवारीसाधनलाई आवश्यकता मूल्याङ्कनका आधारमा सुरक्षा निकायले अनुमति दिने गरेका छन् ।
आज तेस्रो दिन पनि नागरिकले एकान्तबासमै बसेर सरकारको कदमलाई सघाउनेमा विश्वस्त रहेको सँस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईले बताउनुभयो । स्थिति सुधार नभए लक डाउन २१ दिनसम्म लम्बिन सक्ने उहाँको भनाइ छ । लकडाउनको आदेशको पालना नभएमा कडाइका साथ प्रस्तुत हुन प्रहरीलाई गृहमन्त्रालयले निर्देशन दिएको छ ।