७ बषाख २०७८ आउँदो एसईई परिक्षालाई ब्यवस्थित संचालन गर्ने विषयमा भानु मावि मक्रान्चुलीमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
भानु मावी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मानकुमारी पाख्रीनको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका सामाजिक विकास संयोजक एवम् वडा नम्बर ५ का वडाध्यक्ष जित बहादुर घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
राष्ट्रिय परिक्षा बोर्डले संचालन गर्ने एसईई परिक्षाको यस वर्ष देखि पहिलो पटक पालिका स्तरमा मकवानपुरगढी गाउँपालिकाको भानु माविमा केन्द्र तोकिएको छ । पालिका भरिका ९ वटा मावि स्तरका विद्यालयहरु मध्ये ६ वटा विद्यालयबाट १८२ जना परिक्षार्थी भानु मावि केन्द्रमा हुने परिक्षामा सहभागी हुँदैछन् ।
पालिकाको केन्द्र तोकिएको भानु माविको परिक्षा केन्द्र भने हेटौंडा ५ मा रहेको बालज्योती माविमा तोकिएको छ । अर्को मावि वंशगोपाल प्राविधिक विद्यालयको हेटौंडा सोलिडायरिटी विद्यालयमा परिक्षा केन्द्र तोकिएको छ । यसैगरी रुपनारायण माविको परिक्षा केन्द्र भिमफेदीको महेन्द्र माविमा तोकिएको छ ।
पालिकामा पहिलो पटक परिक्षा केन्द्र परेकाले यसलाई अवसरको रुपमा लिई परिक्षालाई मर्यादित र ब्यवस्थित रुपमा संचालन गर्नुपर्नेमा सहभागीहरुको जोड रहेको छ । परिक्षामा सहभागी हुने टाढाको विद्यालयका विद्यार्थीहरुका लागि भानु माविले परिक्षा अवधिभर सुरक्षित आवासको ब्यवस्थापन गर्ने जनाएको छ । साथै अन्य विद्यालयका विद्यार्थीहरुका लागि आवतजावतका लागि यातायातको ब्यवस्थापन गरिने बताइएको छ ।
वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरे तथा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलानको विशेष आतिथ्यता रहेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि , ईलाका प्रहरी कार्यालय मकवानपुरगढी मक्रान्चुलीका प्रहरी प्रमुख बद्रीबहादुर राउत , सहभागी विद्यालयका प्रधानाध्यापकहरु लगायतकाको सहभागिता रहेको थियो ।
राष्ट्रिय परिक्षा बोर्डले यस वर्षको एसईई परिक्षा यहि बैशाख ९ गतेबाट संचालन हुने जनाएको छ । (शुभ बिहानी अनलाइनबाट साभार)