शुक्रबार (भोली) हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मतदानको लागि आवश्यक तयारी पुरा भएको छ । ८ वटा वडा रहेको गाउँपालिकामा १२ वटा मतदान केन्द्र र ११ वटा सहायक मतदान केन्द्र गरी २३ वटा केन्द्रबाट मतदान गर्न तयार गरिएको निर्वाचन अधिकृत नारनप्रसाद पोखरेलले बताए ।
उनले वडाको जनसंख्या हेरी १२ देखी १५ जना सम्म नेपाल प्रहरी र सातदेखी १० जना सम्म म्यादी प्रहरी खटाई सुरक्षाको लागि खटाइएको बताए ।
१९ हजार ११८ जना मतदाता रहेको गाउँपालिकामा मतदान केन्द्रमा पानी पर्ने अवस्था आउनसक्ने हुनाले घामबाट पनि पानीबाट पनि मतपत्र नभिज्नको लागि त्रिपाल हाल्ने व्यवस्था गरेको अधिकृत पोखरेलले बताए ।
उनले गाउँपालिका संवेदनशील अवस्था सामान्य रहेको बताउदैं मतदान कार्य ५ बजे सकिए लगत्तै वडा नम्बर १ र २ को एउटा गाडीमा ढुवानी गरिने र ७ र ८ वडाको पनि मिनी ट्रकबाट ढुवानी गरी गाउँपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने बताए । वडा नम्बर ५ र ६ को ढुवानी गरि ल्याइनेछ भने वडा नम्बर ३ र ४ को सुरक्षा निकायको सवारी साधनमा ढुवानी गरि ल्याइने बताए ।
अधिकृत कार्यालयमा मतगणना गरिने र गणनास्थमा जाली, सिसीक्यामेरा र सुरक्षामा कडाईका साथ गणना गरिने बताए । मतगणना २ वटा वडाको एकैसाथ छुट्टाछुट्टै गनिने व्यवस्था गरिएको पोखरेलले बताए ।