कोरोना भाइरस रोकथामका लागि जाग्यो मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी , विश्वव्यापी माहामारीको रुप लिइरहेको कोरोना भाइरस ( COVID 19 ) बाट जोगिनका लागि मकवानपुरगढी गाउँपालिकाले आवश्यक तयारी थालेको छ ।

गाउँपालिका अध्यक्ष विदुर हुमागाईको संयोजकत्वमा गाउँपालिका स्तरिय ३० सदस्यीय समन्वय समिति गठन गरेर कोरोना भाइरसको जोखिमबाट सुरक्षित रहनका लागि आवश्यक तयारी गरेको हो । समितिमा कार्यपालिका सदस्य, रेडक्रस, गाउँपालिकामा रहेका विद्यालयका प्रधानाध्यापक, स्थानीय समाजसेवी लगायत सदस्य रहनेछन् ।

यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीको संयोजकत्वमा गाउँपालिकामा रहेको ८ वटै वडाका स्वास्थ्य चौकी इन्चार्ज सदस्य रहने गरी क्वीक रेसपोन्स टिम (द्रुत प्रतिकार्य समूह) गठन गरिएको छ । अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वको समितिले कोरोना भाइरस (COVID19) बाट बच्नका लागि आवश्यक सबै कार्य गरिरहेको बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईका अनुसार मानिसको धेरै आवत–जावत हुने क्षेत्रमा सिल गरी मानिसलाई प्रवेश निषेधलाई कडाइ गरिनेछ । गाउँपालिकाको वडा नम्बर २ शिखरकेटेरी, वडा नम्बर ३ मक्रान्चुली वडा नम्बर ४ बन्दाडाँडा , वडा नम्बर ५ सामरीपुलका नाका सिल गरिएको हो ।
विदेशबाट आएका नागरिकलाई स्वास्थ्य परिक्षण गरेर मात्र गाउँपालिका प्रवेश गर्न दिइनेछ भने विदेशबाट फर्किएका प्रत्येक नागरिकको घर घर पुगेर स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ । यसका साथै संक्रमणको त्रासले विदेशबाट फर्किएकाहरुको तथ्यांक संकलनको काम पनि भइरहेको छ ।

वडा अध्यक्षको संयोजकत्वमा वडा सदस्य, रेडक्रस, विद्यालयका प्रधानाध्यापकहरु र स्थानीय समाजसेवी सदस्य रहने गरी गठन गरिएको वडा समन्वय समितिले वडामा भाइरस विरुद्द सचेतनाका कार्य गरिरहेको वडा नम्बर ३ का वडा अध्यक्ष एवम् गाउँ कार्यपालिकाका प्रवक्ता भागवत घिमिरेले जानकारी दिनुभएको छ । गाउँपालिकाको विभिन्न नाकाहरु भालुखोला, शिखरकटेरी, सुकौरा, मक्रान्चुली, बाग्दलीमा साबुन पानीले हात धुने व्यवस्थाका लागि तयारी पनि मिलाइएको छ ।

गाउँपालिकाभरमा कोरोना भाइरसको जोखिमबाट बच्नका लागि स्वास्थ्य कर्मचारीलाई खटाउँदै उनीहरुको हौसलाका लागि संघीय सरकारले व्यवस्था गरे बमोजिम विशेष भत्ता समेत उपलब्ध गराउने भएको छ ।

यस्तै, स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्धताका लागि पनि गाउँपालिकाले आवश्यक पहल गरिरहेको जनाइएको छ ।

सिमानाका कडाइ देखि साबुनपानीले हात धुने ब्यवस्था सम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin