हेटौडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकिकृत समाजबादीकी मिना कुमारी लामा बिजयी हुनु भएको छ । जितसँगै उहाँ वाग्मती प्रदेशको एकमात्र उपमहानगर हेटौंडाको पहिलो महिला मेयरसमेत बन्नु भएको छ । नेकपा एमाले र राप्रपाको चुनौती पन्छाउँदै लामाले पाँचवर्षका लागि नेतृत्व आफ्नो हातमा पार्न सफल हुनु भएको हो ।
३० वर्ष सम्मको एमालेको विरासतलाई तोड्दै पहिलो महिला मेयरको रुपमा मिना लामाले ईतिहास रच्नु भएको छ । बहुदल स्थापनापछिको पहिलो स्थानीय निकाय निर्वाचन २०४९ र दोश्रो निर्वाचन २०५४ मा एमालेले मेयर तथा उपमेयर सहित अधिकांश वडामा जित हाँसिल गरेको थियो । संघिय लोकतन्त्र नेपालको स्थापनापछि भएको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा पनि एमालेले एकलौटी रुपमा हेटौँडाको मेयर–उपमेयर सहित १२ वटा वडाध्यक्षमा जित हाँसिल गरेको थियो । तर २०७९को स्थानीय तहको निर्वाचनमा एमालेले मेयर–उपमेयर सहित पहिले जितेको ३ वटा वडाको संख्या पनि गुमायो र जम्मा ९ वडामा मात्र सिमित हुन परेको छ ।
लामाले २३ हजार ७५ मत ल्याएर विजयी हुनु भयो । दोस्रो स्थानमा रहेका नेकपा एमालेका नेता अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत ल्याउनु भयो । त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत ल्याउनु भयो । लामाले पौडेललाई २ हजार १ सय ६७ मतले पराजित गर्नु भयो । त्यस्तै उपमेयरमा कांग्रेसका राजेश बानिया निर्वाचित हुनु भयो । उहाले ३२ हजार ५ सय ९३ मत ल्याउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याएउनु भयो । राप्रपाकी इन्दिरा न्यौपानले ५ हजार ४ सय ८३ मत प्राप्त गर्नु भयो । हेटौंडा उपमहानगरपालिकामा ७३ हजार ४ सय १४ मत खसेको थियो ।
२०३३ साल पुस २७ गते हेटौंडा–११ नवलपुरमा जन्मिनु भएको लामा २०४६ सालबाट राजनीतिमा प्रवेश गर्नु भएको हो । उहाले समाजशास्त्रमा एमए गर्नु भएको छ । २०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उपसचिव र विद्यार्थी इञ्चार्ज भई काम गर्नु भएको लामा २०७१ सालमै अखिल नेपाल महिला संघको जिल्ला सचिव हुनु भएको थियो । २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य भएको लामासँग आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्ष भएर काम गरेको अनुभव समेत छ ।