राज कुमार के.सी.
थाहा, १२ जेठ,
स्थानीय तह सदस्य निर्वाचन पश्चात निवार्चित थाहा नगरपालिका वडा नं. ३ समितिको पहिलो बैठक सम्पन्न भएको छ । वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको अध्यक्षतामा बिहीबार बसेको बैठकले वडाका सरकारी बिद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने अति विपन्न र जेहन्दार बिद्यार्थीहरुलाई एक बर्षको पूर्ण छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।
आर्थिक अभावका कारण बिद्यालय जान नसक्ने बिद्यार्थीहरुलाई बिद्यालयमा अध्ययन गर्ने वातावरण सृजना गर्न छात्रबृत्ति दिने निर्णय गरिएको वडा अध्यक्ष रायमाझीले बताउनुभयो । अध्यक्ष रायमाझीले यो बर्ष वडाका जनकल्याण माबिका १० जना, सेतीगणेश आधारभूत बिद्यालयका ६ जना, जनता प्राबिका ६ जना र पालुङ बहुमुखी क्याम्पसका २ जना बिद्यार्थीहरुलाई १ बर्ष सम्म आवश्यक पर्ने शैक्षिक सामग्री प्रदान गर्ने बताउनुभयो ।
बैठकले वडामा निर्वाचित जनप्रतिनिधिहरुको जिम्मेवरी समेत निर्धारण गरेको छ । त्यस्तै नगरपालिका कार्यालयले गर्ने निशुल्क स्वास्थ्य बिमाका लागि वडाका २५ गरिव, बिपन्न, जेष्ठ नागरिक परिवारको छनौट समेत गरिएको छ ।
त्यसैगरी क्रिष्टल बनाउने तालिमका लागि २ जना किशोरी र दलित लक्षित कार्यक्रमको लागि २ जना लाभग्राही समेत छनौंट गरिएको वडा सचिव पाल्साङ लामाले बताउनुभयो ।