११ असोज २०७९- मकवानपुरगढीमा पाँचौ संस्करणको मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । नेपालीहरुको महान पर्व बिजया दशमीको अवसरमा असोज १२ गते बुधबारदेखि प्रतियोगिता सुरु हुने भएको छ । आयोजक गढी स्टार स्पोर्टस् क्लबले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । फुटबल खेल र खेलाडीको क्षमता विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको र प्रतियोगिताको सम्पुर्ण तयारी पनि अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेताले ७५ हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले ५० हजार नगद र तेस्रो हुनेलाई २५ हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट बन्ने खेलाडी, विधागततर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका १८ वटा टिमको सहभागिता रहने अनुमान छ । मकवापनुरगढी गाउँपालिका वडा नं.३ स्थित भानु मिनी पिचमा हुने प्रतियोगिताको फाइनल खेल यही १५ गते हुनेछ ।