
हेटौँडा, ३ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० करोड रुपैयाँ लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह बेचेको आरोप लगाउनु भएको छ ।लोकतान्त्रिक वाम गठबन्धनबाट मकवानपुर २ मा उम्मेदवार हुनु भएका खतिवडाले राक्सिराङको सरिखेत पलाँसेमा भएको चियापान तथा अगुवा कार्यकर्ता भेलामा यस्तो बताउनु भएको हो । उहाँले ओलीले राजावादी र विखण्डनकारीहरुसँग हातेमालो गर्दै गणतन्त्र र व्यवस्था नै मास्न लागेको बताउँदै भन्नुभयो, ‘ओलीले १० करोड लिएर यसपटक सूर्य चिन्ह पनि कमल थापालाई बेच्नु भयो ।’
खतिवडाले मकवानपुरमा गठबन्धन बलियो मतका साथ अग्रता कायम गरिरहँदा नेकपा एमालेका उम्मेदवारहरु स्पर्धामा आउनै नसक्ने बताउनु भयो । उहाँले पश्चिम मकवानपुरको विकासमा आफू र गठबन्धनको लगानीबारे बोल्दै भन्नुभयो, ‘यहाँको विकासमा साढे ३ वर्ष शासन गरेको ओली सरकार र बागमती प्रदेशमा डोरमणि पौडेलको सरकारले सिन्को भाँचेन, बरु चेपाङ समुदायको क्षेत्रमा विकासका योजना ल्याउन खोज्दा सधैँ तगारो हाले ।’
खतिवडाले अब बन्ने गठबन्धन सरकारले गाँजा विधेयक पारित गर्नुका साथै गाँजा मुद्दामा देशभर जेल परेका १० हजार मानिसलाई पनि जेलमुक्त गर्न विधेयक ल्याइने बताउनु भयो ।
कार्यक्रममा नेकपा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य राजाराम स्याङ्तान, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङलगायतले निर्वाचन क्षेत्र नम्बर २ को विकासमा सधैँ बाधक बनेको एमालेले भोट माग्न पनि लजाउनु पर्ने टिप्पणी गर्नु भयो । कार्यक्रम नेकपा माओवादी राक्सिराङका अध्यक्ष हस्तबहादुर मुक्तानको अध्यक्षतामा भएको हो ।