कक्षाकोठा आकर्षक बनाउन तालिम


२० बैशाख २०८०  बकैया गाउँपालिकासँगको समन्वयमा चाइल्ड रेस्क्यु नेपाल, ब्रिटिस एन्ड फरेन स्कुल सोसाइटी एजुकेसनल अपर्चुनिटी फर अलको आर्थिक सहयोग तथा इस्थर बेञ्जामिन स्मृति संस्थाको आयोजनामा बकैया गाउ“पालिकाका विद्यालयका ३० शिक्षकका लागि प्रदान गरिएको आकर्षक कक्षाकोठा गुणस्तरीय सिकाइसम्बन्धि तालिम सौराहमा सम्पन्न भएको छ ।
बालबालिकालाई कक्षाकोठामा आकर्षित गर्न सोहीअनुसार शैक्षिक सामग्री निर्माण गरी कक्षाकोठा सजावट गर्दै गुणस्तरीय सिकाइका लागि ज्ञान तथा सिप प्रदान गर्न तालिम आयोजना गरिएको र यस वर्ष १ सय शिक्षकका तालिम प्रदान गर्ने उद्धेश्य राखेर पहिलो चरणमा ३० शिक्षकलाई कार्यक्रममा राखिएको आयोजक संस्था इस्थर बेञ्जामिन स्मृति संस्था मकवानपुर कार्यक्रम व्यवस्थापक बुद्ध लामाले जानकारी दिए ।
बिहीबार सुरु भएको तालिम सोमबारसम्म सञ्चालन भएको थियो भने तालिम सञ्चालन समयमा बकैया गाउँपालिका शिक्षा शाखा प्रमुख आइतराम तामाङले निरीक्षण गरेका थिए । तालिमको अन्तिम दिन बकैया गाउ“पालिका सामाजिक विकास शाखा संयोजक एवम वडा नम्बर–११ का अध्यक्ष गोपालबहादुर न्यासुरको प्रमुख आतिथ्यतामा भएको औपचारिक समापन कार्यक्रममा पालिका शिक्षा शाखा प्रतिनिधि नारायण चापागाईं तथा चन्द्र देबकोटाको आतिथ्यता थियो ।
कार्यक्रममा प्रमुख अतिथि पालिका सामाजिक विकास शाखा संयोजक न्यासुरले भयरहित सिकाइमा बालबालिकाले पढ्न पाउने वातावरण सिर्जना गर्दै अब विद्यालयको कक्षाकोठा शैक्षिक सामग्रीले सजाउन जोड गर्दै पालिकाले आयोजना गर्न लागेको वडास्तरीय, पालिकास्तरीय नमुना विद्यालय छनोट गरी पुरस्कृत गर्ने कार्यक्रममा विद्यालय प्रथम हुने गरी कार्यसम्पादन गर्न अनुरोध गरे । शिक्षा शाखा प्रतिनिधि चापागाईं तथा देबकोटाका साथै सहभागी दीपक तिमल्सिना, पेम्बा दोर्जेभोम्जन र गोमा श्रेष्ठरानाभाटले मन्तव्य व्यक्त गरेका थिए ।
तालिममा बालमैत्री कक्षा तथा विद्यालय व्यवस्थापान, बालअधिकार तथा बालमनोविज्ञान, सचेतना, जीवन सिप, लैंगिक एवम् सामाजिक समावेशीकरण, सकारात्मक सोच, स्वास्थ्य र जीवनशैली, प्रभावकारी सञ्चार, सहजीकरण सिप, न्यून मूल्यमा शैक्षिक सामग्री निर्माणबारे सहजकर्ताद्वय बच्चुराम बस्नेत र जगदीश भट्टराईले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रमको अवसरमा विभिन्न समूहगत् कार्यमा उत्कृष्ट हुने सहभागीलाई पुरस्कृत गरिएको थियो भने समापन कार्यक्रमको सञ्चालन आयोजक संस्था इस्थर बेञ्जामिन स्मृति संस्थाका बुद्धवीर लामाले गरेका थिए ।

Flash News Slide Uncategorized समाचार स्थानीय