बकैयाको लटारम्भेश्वरमा झरनाको साहित्यिक पदयात्रा

झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा २९०औँ साहित्य शृङ्खलाका अवसरमा मकवानपुरको बकैया-१२ ठिङ्गनस्थित महाभारत पहाड पर्वत श्रृङ्खलाको चुचुरोमा रहेको लटारम्भेश्वर मन्दिरसम्मको करिब १८ किलोमिटरको पदयात्रा कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

पदयात्रामा बकैया गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, बकैयाका विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, झरना साहित्यिक परिवार मकवानपुर कार्यसमिति सदस्यहरू, सल्लाहकारहरू, विशिष्ट आजीवन सदस्यहरू, आजीवन सदस्यहरू, मकवानपुर जिल्लामा रहेका साहित्यिक संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू, बकैया गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरू तथा स्थानीय व्यक्तिहरू गरी ७० भन्दा बढीको सहभागिता रहेको थियो । बकैया गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष गोपालबहादुर न्यासुर तथा वडा नम्बर १२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाईँको विशेष आर्थिक व्यवस्थापनमा यो पदयात्रा कार्यक्रम आयोजना गरिएको थियो ।

पदयात्राबाट फर्कने क्रममा बीच बाटोमा झरना साहित्यिक परिवार मकवानपुरको २९० औँ साहित्य शृङ्खला पनि आयोजना गरिएको छ ‌। कार्यक्रममा साहित्यिक रचनाहरू वाचन गरिनुका साथै बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त बहादुर खत्री, झरना साहित्यिक परिवार मकवानपुरका पूर्व अध्यक्ष उद्धव प्रसाद सापकोटा लगायतले आफ्ना महत्वपूर्ण भनाइहरू राख्नुभएको थियो ।

मकवानपुरको बकैया १२ स्थित पर्ने लटारम्भेश्वर मन्दिर पछिल्लो समय पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । जिल्लाभित्र तथा जिल्ला बाहिरका विभिन्न ठाउँबाट धार्मिक आस्था, प्राकृतिक आनन्द, तथा साहसिक यात्राका लागि यस ठाउँमा मानिसहरूको आवतजावत बढ्दै गरेको पाइन्छ । केही वर्षअघिसम्म खासेै चर्चामा नआएको यो मनोरम स्थलमा हाल आएर दिनमै सयौं मानिसहरूले भ्रमण गर्ने गरेको स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup