बागमती प्रदेश सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै

हेटौंडा । सिन्धुली जिल्लाका सामुदायिक माध्यमिक विद्यालयहरूमा बागमती प्रदेश सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।

प्रदेश सरकारले विद्यालमै नर्स पठाएर स्वास्थ्य सेवा दिएसँगै विद्यार्थी सामान्य स्वास्थ्य जाँच र औषधीका लागि अन्यत्र जानुपर्ने बाध्यताबाट मुक्त भएका छन् । विद्यालयमै सामान्य स्वास्थ्य सेवासहित पढ्न पाउँदा विद्यार्थी पनि खुसी देखिन्छन् ।

एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालन भएको कमलामाई नगरपालिका–६ स्थित सिद्धबाबा माविमा कार्यरत स्टाफ नर्स सामना शर्मा विद्यार्थीलाई रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नबाट कसरी बच्न सकिन्छ भन्नेबारे जानकारी दिँदै आएको बताउनुहुन्छ ।

उहाँका अनुसार उक्त कार्यक्रम सञ्चालनसँगै छात्राहरू खुलेर आफ्ना समस्या बताउन सक्ने भएका छन् । महिनावारीका बेला पढ्न नआउने छात्राहरू पनि विद्यालयमा नर्सको व्यवस्था भएसँगै नियमित पढ्न आउन थालेका छन् । “विद्यालयमा दैनिक विभिन्न समस्या भएका नौ÷दस जना विद्यार्थीको स्वास्थ्य जाँच हुने गरेको छ,” उहाँले भन्नुभयो, “कहिलेकाहीँ त २०÷२५ जना नै विद्यार्थीको स्वास्थ्य जाँच हुने गर्द छ ।”

विद्यालयमा स्वास्थ्यसँग सम्बन्धित महिनावारी, मानसिक समस्या, किशोर अवस्थाको बारेमा, प्रजनन स्वास्थ्य, आँखालगायतका विषयमा पनि कक्षा सञ्चालन गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । उक्त कार्यव्रmम जिल्लामा २०७५ सालमा कमलामाई नगरपालिका–५ स्थित जनज्योति मावि फोस्रेटारमा नमुना परीक्षणका लागि सञ्चालन गरी सुरुवात गरिएको थियो ।

एक विद्यालय, एक नर्स कार्यव्रmम प्रभावकारी बनेपछि बर्सेनि विस्तार गरी चालु आर्थिक वर्षसम्म ३९ वटा सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन भएको शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जनाएको छ । कार्यालय प्रमुख निर्मल घिमिरेले उक्त कार्यक्रम बढी मात्रामा छात्राहरूका लागि प्रभावकारी देखिएको बताउनुहुन्छ ।

“यो कार्यक्रम विशेष गरी महिनावारी हुने बेला भएका छात्राहरूलाई राम्रो छ,” उहाँले भन्नुभयो, “स्टाफ नर्स भएपछि उनीहरूले आफ्ना समस्या खुलेर राख्न पाएका छन् । सेनेटरी प्याड विद्यालयमै पाउँछन् । महिनावारी हुने बेलामा त्यस्ता छात्राहरू विद्यालय नआउने समस्या थियो । स्टाफ नर्स भएको विद्यालयमा एउटा छुट्टै आराम गर्ने कोठा पनि हुन्छ । त्यसले गर्दा छोरीहरूको विद्यालय आउने क्रम बढेको छ ।”

दुधौली नगरपालिका–११ स्थित कमला मावि मैनीका प्रधानाध्यापक राजेश्वर यादव पनि विद्यालयमा नर्सको व्यवस्था भएसँगै विद्यार्थीलाई धेरै सजिलो भएको बताउनुहुन्छ । उहाँका अनुसार नर्सको व्यवस्था भएपछि छात्रा महिनावारी भएको बेला तीन/चार दिन विद्यालय नआउने क्रम रोकिएको छ । नर्सले प्रत्येक दिन बिहान १० बजेदेखि ४ बजेसम्म र आवश्यक परेको बेलामा अन्य समयमा पनि विद्यार्थीको स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम हुँदै आएको छ ।

उक्त कार्यक्रम सञ्चालन भएको विद्यालयमा विद्यार्थीले स्वास्थ्य जाँचको सुविधा विद्यालयमा पाउन थालेपछि अभिभावकसमेत उक्त कार्यव्रmमप्रति आकर्षित भएको उहाँले जानकारी दिनुभयो ।

जनज्योति मावि फोस्रेटारमा कार्यरत स्टाफ नर्स सन्ध्या ढकालका अनुसार उक्त विद्यालयमा प्रत्येक तीन महिनामा बालबालिकाको स्वास्थ्य जाँच गरिन्छ । वर्षमा तीन पटकसम्म आँखा, मुख र कानको परीक्षण र सिकाइमा विशेष समस्या भएका विद्यार्थीहरूको शारीरिक, मानसिक र संवेगात्मक अवस्थाको परीक्षण गर्ने गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यालयमा सात सयभन्दा बढी त छात्रा भएकाले महिनावारीको समस्या धेरै देखा परेको छ । छात्राहरू महिनावारी गडबडी, तल्लो पेट दुख्ने, रगत धेरै बग्नेलगायतका समस्या लिएर आउने गरेका छन् । विद्यार्थी पनि अहिले आफैँ सचेत भएका छन् ।”

नर्सको व्यवस्थासँगै प्याड वितरण, सरसफाइ, मासहिस्टेरिया जस्ता समस्या समाधान भएको उक्त विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *