अटिजम पहिचानमा चुनौती, बागमती प्रदेशमा एक हजारभन्दा बढी ग्रसित

हेटौँडा । नेपालमा अटिजमको पहिचान चुनौती बन्दै गएको पाइएको छ । मस्तिष्क अपाङ्गताको अवस्था मानिने अटिजम नेपालमा नौलो र फरक स्वास्थ्य समस्या भएकोले पहिचानमा समस्या देखिएको हो ।

पछिल्लो तथ्याङ्क अनुसार बागमती प्रदेशमा मात्र एक हजारभन्दा बढी अटिजमको समस्याबाट पीडित रहेका छन् । यस प्रदेशका १३ वटै जिल्लामध्ये काठमाडौँ र ललितपुरबाहेक अन्य जिल्लामा अटिजमबाट ग्रसित हुने पुरुषको तुलनामा महिला बढी छन् ।

राष्ट्रिय जनगणना–२०७८ मा अटिजमलाई अपाङ्गतामा राख्दै एक हजार २५३ जनामा अटिजम भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले अटिजमसम्बन्धी जनचेतनाको अभावमा अटिजमको पहिचान र निदानको समस्या भएपछि प्रदेशमा अटिजमको विद्यमान अवस्था र अटिजमको सम्बन्धमा जनस्वास्थ्य क्षेत्रले गर्न सक्ने सम्बोधनका बारेमा छलफल सुरु गरेको छ ।

स्वास्थ्य मन्त्रालयका विशेषज्ञ चिकित्सक डा. साकार खनालले यस प्रदेशमा अटिजम भएका सबैभन्दा बढी काठमाडौँमा ४९५ र चितवनमा ११३ जना रहेको जानकारी दिनुभयो । यस्तै ललितपुरमा ८३, भक्तपुरमा ७८, मकवानपुरमा ७७, काभ्रेपलाञ्चोकमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुली जिल्लामा ६५/६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३, रामेछापमा २८ जना, रसुवामा १७ जना अटिजम भएको पाइएको छ ।

जनगणाना अनुसार नेपालमा दुई हजार ६२८ जना महिलासहित चार हजार ८८६ जनामा अटिजम भएको छ । भौगोलिक अवस्था अनुसार हिमालमा २१० महिलासहित ३२८ जना, पहाडमा एक हजार १५० जना महिलासहित दुई हजार २२९ जना र मधेशमा एक हजार २६८ महिलासहित दुई २२९ जनामा अटिजम भएको तथ्याङ्क छ ।

मन्त्रालयका विशेषज्ञ चिकित्सक खनालले विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार प्रत्येक सय जनामा एक जनामा अटिजम भएको पाइन्छ, सो अनुसार नेपालमा करिब तीन लाख जनामा अटिजम भएको अनुमान गरिए पनि पहिचान हुन नसकेको बताउनुभयो । काठमाडौँ उपत्यका र चितवनमा मात्र अटिजमको खोज र निदान गर्न सकिने संस्था र पूर्वाधार भएकोले त्यहाँ बढी सङ्ख्यामा देखिएको हो, विशेषज्ञ चिकित्सक खनालले भन्नुभयो, “अन्यत्र पूर्वाधारलगायत जनचेतनाको अभाव अटिजम भएकाको पहिचानमा नै समस्या देखिएको छ ।”

अटिजमलाई एक जटिल प्रकारको मस्तिष्कको विकासात्मक तथा जन्मजात अपाङ्गता मानिन्छ । शारीरिक रूपमा अपाङ्गता स्पष्ट नहुने र व्यावहारिक रूपमा मात्र चिनिने भएकोले यो अवस्था सानो उमेरमा पत्ता लगाउन समस्या हुने गरेको बताइन्छ ।

जन्मेको तीन वर्षभित्रमा प्रस्ट रूपमा देखिन सक्ने अटिजम फरक व्यक्तिमा फरक लक्षण देखिने मूलतः सञ्चार (कम्युनिकेसन) लाई बुझ्न र प्रयोग गर्न कठिनाइ हुने, सामाजिक रहनसहन तथा व्यवहार बुझ्न र प्रयोग गर्न कठिनाइ हुने र दोहो-याई गर्ने व्यावहारिक समस्या तथा सोच्ने क्षमतामा एकरूपता नहुने विशेषज्ञ चिकित्सक खनाल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “व्यावहारिक सिद्धान्तको आधारमा शिक्षा, सञ्चारको थेरापी, विशेष र समाहित शिक्षा, विशेष लक्षण भएकालाई औषधीको प्रयोग र अन्य थेरापीको माध्यमबाट उपचार गर्न सकिन्छ ।”

अटिजमसम्बन्धी जनचेतना र स्वास्थ्य सेवाको कमीसँगै अभिभावक, शिक्षक तथा स्वास्थ्यकर्मी यस अवस्थालाई पहिचान गर्न सक्ने क्षमता, अटिजमसम्बन्धी विषेशज्ञ जनशक्ति र अटिजमसम्बन्धी अनुसन्धानको कमी रहेको उहाँले बताउनुभयो । साथै अटिजमसम्बन्धी नीति, अटिजम भएका व्यक्तिका लागि आवश्यक सेवा तथा सुविधा, अटिजमको पूर्ण तथ्याङ्कको कमीसँगै उनीहरूलाई रोजगारीमा समस्या रहेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलालले अटिजम भएकाको अहिले विविध कारणले पहिचानमा नै समस्या भएको बताउनुभयो । उहाँले मन्त्रालयले अटिजम भएकाको पहिचानसँगै समस्याको निदानका लागि नीति निर्माण गर्न छलफल सुरु गरेको बताउँदै आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रबाट आवश्यक सेवा तथा सुविधा दिने गरी कार्यव्रmम बनाउने योजना रहेको सुनाउनुभयो । गोर्खापत्रबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *