कालिदेवी दुग्ध सहकारीको भेला सम्पन्न, दुध बिक्री गर्ने सबै किसान पुरस्कृत र सम्मानित

२५ पौष२०८०- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालिखोलामा रहेको कालिदेवी दुग्ध उत्पादक सहकारी संस्था लि. को २८ औं वार्षिक साधारणसभा मंगलबार (हिजो) सम्पन्न भएको छ ।
भेला कै अवसर पारी संस्थामा दुध बिक्री गर्ने सबै किसानलाई विभिन्न विधाबाट संस्थाले पुरस्कृत एवम् सम्मान गरेको छ ।
यस अघि विभिन्न विधाबाट पुरस्कृत भैसकेका किसानहरुलाई यो पटक प्रमाणपत्र दिएर सम्मान गरेको छ भने हाल सम्म पुरस्कृत नभएका बाँकी सबै किसानलाई संस्थाले दुध बोक्नका लागि १० लिटर जाने स्टिलको क्यान वितरण गरेको छ ।
भेलाकै अवसर पारी विभिन्न समयका दुध बन्दमा संस्थाका दुध बिक्री गर्ने किसानको दुध खरिद गरि अतुलनीय सहयोग गरेको भन्दै कपिल के स्टोर्स हेटौंडाका प्रोपाईटर कपिल पोखरेललाई दोसल्ला प्रमाणपत्र सहित सम्मान गरिएको छ । त्यस्तै संस्थालाई पशु आहार उपलब्ध गराई सहयोग गरेकोमा ब्यवसायी प्रकाश दाहाल लाई सम्मान गरेको छ । संस्थामा यस अघि विभिन्न जिम्मेवार पदमा रहि संस्थाको उन्नति प्रगतिमा योगदान गरेको भन्दै विभिन्न ब्यक्तिहरुलाई समेत संस्थाले सम्मान गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७९/०८० मा किसानहरुबाट २ करोड २७ लाखको दुध खरिद गरेको छ भने दुध बिक्रीबाट २ करोड ३९ लाख ६४ हजार रुपैयाँ प्राप्त गरेको छ ।
संस्थाका अध्यक्ष बिक्रम योन्जनको सभाध्यक्षता एवम् मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा भेला भएको हो । भेलामा गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीन, वडा नम्बर ३ र ४ का वडा अध्यक्ष द्वय भागवत घिमिरे र अर्जुन प्रसाद तिमल्सिना , मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेलको विशेष आतिथ्यता रहेको थियो भने विभिन्न सहकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिको कार्यक्रममा आतिथ्यता रहेको थियो ।
खाजा तथा यातायात खर्च स्वरुप भेलामा आमन्त्रित अतिथि तथा उपस्थिति शेयर सदस्यहरुलाई मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघबाट उत्पादित मकवानपुर ब्रान्डको डेरी घ्यु उपलब्ध गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *