हेटौंडा । यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि निर्वाचन आयोगले तयारी तीव्र बनाएको छ । निर्वाचनमा बागमती प्रदेश तर्फ ४ सिटका लागि निर्वाचन हुँदैछ । बागमती प्रदेश तर्फबाट राष्ट्रिय सभा सदस्य बनेका ४ जनाको पदावधि सकिँदै छ ।
हाल कायम रहेका राष्ट्रिय सभा सदस्यहरू मध्ये बागमती प्रदेश तर्फका एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र सांसद खिमलाल देवकोटाको पद रिक्त हुँदैछ । जस अनुसार निर्वाचनमा महिला, अपाङ्गता, अल्पसङ्ख्यक, दलित र अन्य समूहका १–१ सिटका लागि प्रतिस्पर्धा हुनेछ ।
केन्द्रीय समीकरण अनुसार सत्ता गठबन्धन एक ढिक्का बनेर निर्वाचनमा होमिने तयारी गरेको छ भने एमाले एकल रूपमा निर्वाचनमा जाँदैछ । बागमती प्रदेशको स्थानीय तह र प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत रहेको छ । आगामी निर्वाचनको नतिजा सत्ता गठबन्धनको पक्षमा आउने सहजै अनुमान गर्न सकिन्छ । एमालेले बागमती प्रदेश अन्तर्गतको ४ वटै सिटमा उम्मेदवारी दिएको छ । सत्ता गठबन्धनले सिट भागबन्डा गरेर उम्मेदवारी दिएका छन् ।
उम्मेदवारहरूले शनिबार निर्वाचन अधिकृतको कार्यालय हेटौँडाबाट चुनाव चिन्ह समेत प्राप्त गरिसकेका छन्। ६ वटा राजनीतिक दलबाट उम्मदवार बनेका १५ मध्ये ४ जनाले जित सुनिश्चित गरिसकेका छन्।
सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवारहरूमध्ये नेपाली कांग्रेसका जितजंग बस्नेत र विष्णुकुमारी पुडासैनी, माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट धनश्याम रिजाल विश्वकर्माकै पल्लाभारी हुने मतभारले देखाउँछ।
कुल मतभारको बहुमत अर्थात् ५ हजार १ सय ७७ मत हुँदा जित सुनिश्चित छ। जसका लागि प्रदेश सभामा रहेका हाम्रो नेपाली पार्टीको २ सांसद बाहेक पनि ६५ सांसदको मतभारले प्रदेशतर्फ मात्रै ३ हजार ४ सय ४५ हुन आउँछ।
यस्तै, स्थानीय तहतर्फका २ सय ३७ मतदाता रहेको यस प्रदेशमा सत्ता गठबन्धनदलकै मतभार बढी छ। निर्वाचन आयोगले प्रदेश सभा सांसदको ५३ मतभार र स्थानीय तहका जनप्रतिनिधिको १९ मतभार कायम गरेको छ।
अंकगणित अनुसार सत्ता बाहिर रहेका एमाले, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी ४५ सांसद छन्। बागमती प्रदेश सभातर्फ ५३ मतभारले प्रतिपक्षी दलहरूको कुल मतभार २ हजार ३८८ मात्रै हुन आउँछ । प्रदेश सभातर्फ कुल ११० सांसदको ५ हजार ८३० छन्।
यस्तै स्थानीय तहको संख्या ११९ छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २३८ रहेकोमा दोलखाको गौरीशंखर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको गत असार ३१ गते हृदयघातका कारण मृत्यु भएको थियो। जसका कारण एक मतदाता संख्या कम छ।
यसरी बागमती प्रदेशको कुल मतदाता २३७ छन्। मतभार १९ रहेको स्थानीय जनप्रतिनिधिको बागमतीमा ४ हजार ५०३ मतभार रहेको छ।
जसमा स्थानीय तहतर्फ गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका १०७ (गौरीशंखर गाउँपालिका उपाध्यक्षको मृत्यु भएको), माओवादी केन्द्रका ५७, नेकपा एकीकृत समाजवादीका ९ जनप्रतिनिधि छन्। सत्ता गठबन्धनमा आवद्ध १७३ जना स्थानीय तहका जनप्रतिनिधिको १९ मतभारले ३ हजार २८७ मतभार हुन आउँछ। यसबाहेक प्रतिपक्षमा रहेका नेकपा एमालेका ६०, र अन्य ४ दलका जनप्रतिनिधि गरी ६४ जनप्रतिनिधि छन्। जसमा प्रतिपक्षी दलहरुको १ हजार २१६ मतभार हुन आउँछ । यसरी बागमती प्रदेशको १ सय १९ स्थानीय तहको कुल मतभार ४ हजार ५०३ रहेको छ।
प्रदेशको ५ हजार ८३० र स्थानीय तहको ४ हजार ५०३ मतभार गरेर यहाँ कुल मतभार १० हजार ३३३ हुनेछ। बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धन छ। सत्ता गठबन्धनको साझा उम्मेदवारलको पल्लाभारी हुनेमा दुईमत छैन। गठबन्धनका तीन पार्टीसँग मात्रै ६ हजार ७७० मत छ। त्यति मत जितका लागि पर्याप्त हुन्छ।
JANAPATRA