पीडा बुझ्न सांसद बर्तौला खानीक्षेत्रमा आउदै


एमपी शर्मा
११ फागुन २०८०
मकवानपुरगढी गाउँपालिकाको सुकौरास्थित खोटारमा रहेको शिवम् सिमेन्टको ढुंगाखानीका कारण मानवबस्ती जोखिममा परेको जनगुनासो आएपछि नेकपा एमालेका सचेतक तथा मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश बर्तौलाको नेतृत्वमा शनिबार खानीक्षेत्रमा अनुगमन तथा सरोकारवाला निकायबीच अन्तक्र्रिया हुने भएको छ ।
सांसद् बर्तौलाले सामाजिकसञ्जाल फेसबुकमा लेख्दै जिल्लास्थित प्रशासनिक नेतृत्व, पालिका नेतृत्व तथा अन्य अगुवासहित आफू खोटार खानीक्षेत्रमा आउने बताएका छन् । ‘तपाईंहरु पनि आउनुहोला,’ उनले लेखेका छन् । उनले भनेका छन्–मैले संसद् बैठकमा समेत यस विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको छु । त्यसैले यस विषयमा स्थलगत् अनुगमन गर्न तथा स्थानीयहरुसँग छलफल गर्न म मकवानपुरगढी गाउँपालिका–७, सुकौरास्थित खोटार खानीक्षेत्रमा फागुन १२ गते शनिबार विहान ७ः३० बजे आउनेछु ।
नेकपा एमालेका सचेतक बर्तौलाले मकवानपुरगढी गाउ“पालिकामा शिवम् सिमेन्ट उद्योगले अव्यवस्थित र मापदण्डबाहिर गएर खानी सञ्चालन गर्दा मानव बस्तीमा जोखिम बढेको भन्दै बिहीबार प्रतिनिधिसभा बैठकमा संसदीय छानबिन समिति माग गरेका थिए । खानीले ओभरबर्डन सामरी खोलामा फ्याँक्दा मकवानपुरगढीको सुकौरा, डुम्रेकुना, धमिले, झल्ला, हेटौंडा उपमहानगरपालिकाको चौकीटोललगायत क्षेत्रको मानवबस्ती, खेतीयोग्य जमिन, विद्यालयमा असर पुर्‍याउने भन्दै संसद्को ध्यानाकर्षण गराएका थिए ।
सांसद् बर्तौलाले खानीक्षेत्रको यथार्थ अवस्थाबारे जानकारी लिनुका साथै खानी सञ्चालनमा भइरहेका गलत क्रियाकलापहरुलाई कसरी प्रभावकारी नियमन गर्ने भन्नेबारे खानी विभागका महानिर्देशक र उपमहानिर्देशकहरुसँग छलफल गरी ध्यानाकर्षण गराइसकेका छन् । मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामास्यांतानको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिसहितको टोलीले मंगलबार खानीक्षेत्रको अनुगमन गरेपछि खानीक्षेत्रले चर्चा पाएको छ भने समस्या समाधान हुनेमा स्थानीय आशाबादी देखिएका छन् । शिवम् सिमेन्ट उद्योगले भने खानी व्यवस्थितरुपमा सञ्चालन भइरहेको र ओभरबर्डन व्यवस्थापन गर्न पनि उद्योग प्रतिवद्ध रहेको जनाएको छ ।

Flash News Slide Uncategorized अर्थ राजनीति रोचक समाचार स्थानीय