१३ फागुन २०८०
मकवानपुरगढी गाउँपालिकास्थित खोटार खानीमा भएको अव्यवस्थित उत्खनन्का कारण उत्पन्न समस्याबारे ब्यापक जनगुनासोपछि शनिबार यस विषयमा प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचेतक महेश बर्तौलाको नेतृत्वमा जिल्लाका प्रशासनिक प्रमुखहरु, जिसस प्रमुख, उपप्रमुख, गाउँपालिकाको नेतृत्व, पूर्वनेतृत्वसहित स्थलगत् अनुगमन र स्थानीयहरुसँग शिवम् सिमेन्टका प्रतिनिधिसहितको छलफल खानीक्षेत्र पुगेर सम्पन्न भएको छ ।
सामूहिक छलफलबाट खानी सञ्चालनसम्बन्धि मापदण्ड र सम्पूर्ण शर्तहरु पूर्णकार्यान्वयन गरेरमात्र खानी सञ्चालन गर्ने, खानीबाट निस्किएको र जथाभावीरुपमा खोलामा फालिएको ओभरबडेन तत्काल व्यवस्थित गर्ने, उक्त कार्य सम्पन्न नहुँदासम्म खानी उत्खनन् कार्य बन्द गर्ने, प्रभावित क्षेत्रमा बस्ती संरक्षणलगायत सामाजिक उत्तरदायित्वअन्तर्गत् कामहरु गर्ने र आगामी दिनमा पालिकाको नेतृत्वसँग परामर्श, जानकारी र समन्वय गरेरमात्र खानीसम्बन्धि सम्पूर्ण कार्य अगाडि बढ्ने बढाउने निर्णय भएको उक्त कार्यका मुख्य पहलकर्ता प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले बताए ।
नेकपा एमालेका सचेतक बर्तौलाले मकवानपुरगढी गाउँपालिकामा शिवम् सिमेन्ट उद्योगले अव्यवस्थितढंगबाट र मापदण्डबाहिर गएर खानी सञ्चालन गर्दा मानव बस्ती जोखिममा परेकाले यसलाई तत्काल मापदण्ड पूरा गर्न र प्रभावित क्षेत्रमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।
मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामास्यांतानले खानीले पारेका प्रभावका विषयमा जानकारी गराएका थिए । उद्योगलाई ओभरबडेन व्यवस्थापन गर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरिएको उनले बताए । खानीका कारण मानब बस्ती, खेतीयोग्य जमिन जोखिममा रहेको भन्दै मापदण्ड अनुसार खानी सन्चालन गर्न आग्रह गरे ।
अन्तरक्रियामा शिवम् सिमेन्टका रामजी चौरासियाले खानी क्षेत्रमा कमजोरी भएको स्वीकार गर्दै खानीबाट निस्किएको र जथाभावीरुपमा खोलामा फालिएको ओभरबडेन तत्काल व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । उक्त कार्य सम्पन्न नहु“दासम्म खानी उत्खनन् बन्द गर्ने, प्रभावित क्षेत्रमा बस्ती संरक्षणलगायत सामाजिक उत्तरदायित्वअन्तर्गत् काम गर्ने, आगामी दिनमा पालिकाको नेतृत्वसँग परामर्श र समन्वय गरेरमात्र खानीसम्बन्धि सम्पूर्ण कार्य अगाडि बढाउने, खानी सञ्चालन मापदण्ड र सम्पूर्ण शर्त पूर्णरुपमा कार्यान्वयन गरेरमात्र खानी सञ्चालन गर्ने उनको प्रतिबद्धता छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले खानी विभागले दिएको अनुमति र मापदण्डअनुसार खानी सञ्चालन गर्न आग्रह गरे । ‘खानी विभागले जेजे मापदण्ड तोकेर अनुमति दिएको छ, त्यसअनुसार काम गर्नुस् । त्यसबाहिर जान पाइँदैन, देश औद्योगिकीकरणमा गएर तपाईंलाई खानी सञ्चालन गर्न दिएको हो । यसमा यहाँ जनता कसैले विरोध गरेका छैनन् । उहाँहरुले सपोर्ट गर्नुभएको छ । सिमेन्ट उद्योग चल्नुपर्छ तर, खानी विभागले जे भनेर अनुमति दिएको छ, त्यस भन्दा एक इञ्च पनि दा“याबाया“ नगर्नुहोस्,’ प्रजिअ सेढाईंले भने ।
उनले खानीको समस्या एक दिनको मात्र नभएर पहिलेदेखि नै आएकाले गुनासो आएको भन्दै यसमा उद्योगले ध्यान दिनुपर्ने बताए । उद्योगले लापरबाही गर्दा तल्लो बस्तीमा बसोबास गर्नेको जिउधन जोखिमको कुरा छ । त्यसकारण वातावरण संरक्षण गरेर खानी सञ्चालनमा ल्याउनुपर्ने उल्लेख गरे ।
‘जनताको जिउधनमा एक पर्सेन्ट पनि कम्प्रोमाइज नगर्न उनको आग्रह छ । सामाजिक उत्तरदायित्वका कामहरुलाई पहिलो प्राथमिकता दिनुहोला,’ उनले भने–खानी रहे उद्योग रहन्छ । खानी नरहे उद्योग कहाँ रहन्छ र । त्यसैले जनतासँग एकाकार भएर उद्योग चलाउनुस् । कुनै गुनासो आउन नदिनुस् । प्रजिअ सेढाईंले भने–उद्योग सञ्चालनका क्रममा भएका कमजोरी तत्काल सच्याउँदै पानी पर्नु भन्दा पहिले नै ओभरबडेन हटाइसक्न निर्देशन दिए । उनले बाटोमा ढुंगा ढुवानी गर्दा ओभरलोड नबोक्न पनि अनुरोध गरे । त्रिपालले छोपेर ओेभरलोड बोक्न पाइँदैन । यो गलत हो । यसो नगर्नु होला । ओभरलोड बोक्दा ढुंगा खसेर पैदलयात्रीको ज्यान जानसक्छ ।
ढुंगाखानीका कारण मानवबस्ती जोखिममा परेपनि खानीबाट त्यस्तो कुनै असर नपरेको भन्दै प्रतिनिधिसभाका सदस्य बर्तौलाको नाम उल्लेख गरी खानी तथा भूगर्भविद्लाई चिठ्ठी पठाएको प्रमाणसमेत फेला परेको छ ।
वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरेले शिवम सिमेन्टले सञ्चालन गरेको खानीका कारण मानव बस्ती, खेतीयोग्य जमिन, खानेपानीको मुहानमा असर पुर्याएको बताए।
मकवानपुरगढी गाउँपालिकाको सुकौरामा शिवम् सिमेन्ट उद्योगले जंगलका सालका रुखसमेत काटेर खानी क्षेत्र बिस्तार गर्दै ओभर बडेन यत्रतत्र फाल्दा यहाँको बस्तीसमेत जोखिममा छ ।
मकवानपुरगढी गाउँपालिकाको सुकौरास्थित शिवम् सिमेन्ट उद्योगले सञ्चालन गरेको खोटार खानीले पटकपटक अनियमितता गरेको पाइएको छ । कम्पनीले ‘नो कम्प्रोमाइज’ को नारा दिँदै पनि ओभरबडेन फाल्ने काम गरेको र स्थानीयलाई झुटो आश्वासन दिइरहेको स्थानीयको आरोप छ ।
‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ शीर्षकको ब्रान्डिङ स्लोगन लिएर नेपाली बजारमा आएको शिवम् सिमेन्ट झुटको खेती गर्नेमा पनि ‘नो कम्प्रोमाइज’ देखिएको छ । एकपटक होइन, दुई पटक होइन, तीन पटक नभइ कयौं पटक ओभरबडेन गर्दिन“ भन्दै यत्रतत्र फ्यालिएको छ । जनतालाई झुट बोल्दै मकवानपुरगढी गाउँपालिकाको सुकौरास्थित खोटारमा रहेको ढुंगाखानीले ओभरबडेन सामरी खोलामा फ्याँक्दै उद्योगले झुटको खेती गरिरहेको भन्दै स्थानीय रामशरण लामिछानेले शिवम् सिमेन्ट झुट बोल्ने मामिलामा पनि नो कम्प्रोमाइज रहेको आरोप लगाए । मापदण्डविपरीत उत्खनन् गरिरहेको प्रमाण सरकारी निकायले गरेको अनुगमनमा भेटिएको छ । तर, देशको कानुनले छुँदैन शिवम् सिमेन्टलाई । कारण एउटामात्र छ कि, उसँग अथाह पैसा छ । र, हाम्रो देशको सिष्टम पैसामा बिक्ने गरेको बताए ।
खानी क्षेत्रका बासिन्दाहरुलाई प्रत्यक्षरुपमा असर पर्ने गरी भएको उत्खनन् र ओभरबडेन फालेका कारण तलको बस्ती जोखिममा परेको भन्दै सांसद् बतौलाको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान, प्रजिअ सेढाईं र स्थानीयसहित थिए ।