मजदुर परिवारलाई हेटौंडा उपमहानगरपालिकाद्वारा खाद्यान्न सहयोग

हेटौंडा , कोरोना भाइरसको कारण गरिएको लकडाउन बाट दैनिक ज्यालादारी गर्न नपाएका मजदुर परिवारलाई हेटौंडा उपमहानगरपालिकाले खाद्यान्न वितरण शुरु गरेको छ ।
दैनिक ज्यालादारी गरि दैनिकी चलाउनुपर्ने अवस्था भएका मजदुरहरुलाई केही सहज होस् भनेर खाद्यान्न वितरण गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनु भयो । निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरुलाई दैनिकीमा समस्या परेको भन्दै आजबाट चामल , दाल र नुन वितरण गर्न शुरु गरिएको मेयर महतले बताउनु भयो ।
हेटौंडामा घर जग्गा नभएका कोठा भाडामा परिवार सहित बसेका दैनिकी चलाउन समस्या परिसकेका मजदुरहरुको पहिचान गरि क्युपेक नेपाल मकवानपुरसँगको सहकार्यमा एक हजार केजी चामल , दुई सय केजी दाल र एक सय प्याकेट नुन वितरण गरिएको क्युपेक नेपाल मकवानपुरका अध्यक्ष प्रताप राईले बताउनु भयो ।
दैनिक ज्याला गरि घर चलाउनु पर्ने बाध्यता भएका मजदुरहरुलाई लकडाउन अवधिभर दैनिकी चलाउनको लागि परिवार संख्या हेरि खान पुग्ने गरि खाद्यान्न वितरण गर्ने मेयर महतले बताउनु भयो । सो कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ , ७ र १४ का वडाध्यक्षहरुको समेत उपस्थिति रहेको थियोे ।

Uncategorized