
एमपी शर्मा
हेटौंडा, मकवानपुर |
२५ साउन २०८२- नेकपा माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष तथा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ले वाइसीएल नेपालद्वारा सञ्चालनमा ल्याइएको ‘श्रम र उत्पादनमा YCL अभियान’लाई भ्रष्टाचारविरुद्धको अभियानको रूपमा वर्णन गर्नुभएको छ। उहाँले यो अभियान टोलदेखि केन्द्रसम्म व्याप्त भ्रष्टाचार, विकृति र विसंगतिका विरुद्ध सुरु गरिएको आन्दोलन भएको बताउनुभयो।
मकवानपुरगढी दरबार क्षेत्रको सरसफाइ कार्यक्रममा सहभागी हुँदै सांसद पुलामीले भन्नुभयो, “यो अभियान झार फाडेको मात्रै होइन, देशलाई वेथितितिर लैजाने र अकूत सम्पत्ति जम्मा गर्ने भ्रष्टाचारिहरूको सफाइ गर्ने अभियान हो।”
उहाँले यो अभियान केवल वाइसीएल वा माओवादी केन्द्रको मात्र नभई आम नागरिकको अभियान हुनु पर्नेमा जोड दिनुभयो। समाजवाद, समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि जनसहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो।
यसैक्रममा, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले पनि यो अभियान देशको समृद्धि श्रम र उत्पादनमै आधारित रहेको धारणा व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “अब शब्दले होइन, कर्मले देश विकास हुन्छ। श्रम गरेर देखाउने समय आएको छ।”
अध्यक्ष घलानले युवाहरूलाई श्रम र उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै वाइसीएल अभियानलाई पार्टी, सरकार र जनताबीचको सेतुको रूपमा अघि बढाइएको स्पष्ट पार्नुभयो।
मकवानपुर वाइसीएलले सञ्चालनमा ल्याएको “श्रमदान र उत्पादनमा YCL अभियान” अन्तर्गत ऐतिहासिक मकवानपुरगढी दरबार क्षेत्रको सरसफाइ गरिएको हो।
कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक भीम पाख्रिन, सचिवालय सदस्य वीरबहादुर घलान ‘ज्वाला’, कमानसिंह पाख्रिन ‘पृथक’, वाइसीएल जिल्ला इन्चार्ज कमल अर्याल, सुमन पाख्रिन, जिल्ला अध्यक्ष मुक्ति लामा, गढीगाउँपालिका अध्यक्ष राजकुमार खड्का, उपाध्यक्ष युवराज सापकोटा लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति थियो।
उक्त अभियानले जनसहभागिता, सुशासन, श्रम र उत्पादनलाई जोड दिंदै विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने लक्ष्य लिएको वाइसीएल मकवानपुरका अध्यक्ष मुक्ति लामाले बताउनुभयो।

