मकवानपुरगढी ५ सोलिथुममा विद्युत् विस्तारमा चरम लापरबाही, स्थानीयवासी जोखिममा

मकवानपुर, साउन २७ – मकवानपुरगढी गाउँपालिका–५ अन्तर्गत पर्ने सोलिथुम क्षेत्रमा विद्युत् विस्तारको काम अव्यवस्थित ढंगले अघि बढाइएकाले स्थानीयवासीहरू दिनहुँ ज्यानको जोखिम मोलेर बस्न  बाध्य भएका छन्।

सोलिथुमको बस्तीमा राखिएको बिजुलीको पोलहरू लड्ने अवस्थामा पुगेका छन् भने कतिपय स्थानमा जमिनमै झुन्डिएको विद्युत् तारलाई बाँसको टेको लगाएर सम्हालिएको देखिन्छ। यस्तो लापरबाहीका कारण बालबालिका, वृद्धवृद्धा र सर्वसाधारणको सुरक्षामा गम्भीर चुनौती देखिएको छ।

रास्वपा सम्बद्ध र्याटका जिल्ला सदस्य राज कुमार घिमिरेले घटनास्थलको अवलोकनपछि सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै विद्युत् प्रसारणमा देखिएको लापरबाही र सरकारी निकायको बेवास्तालाई उजागर गरेका छन्। भिडियोमा देखिएअनुसार, भौगोलिक रूपमा जोखिमयुक्त स्थानमा जथाभावी तरिकाले पोल राखिएको छ, जसका कारण पोलहरू ढल्नै लागेको अवस्थामा छन् भने तिनमा झुन्डिएका तारहरू जमिनमै पुगिसकेका छन्।


उक्त स्थानमा सालको लाथ्रा गाडेर तार विस्तार गरिएकोमा करिब १४-१५ वटा जति ढल्ने अवस्थामा पुगेको घिमिरेले बताए ।
यस सन्दर्भमा रेडियो मकवानपुरगढीले विद्युत् प्राधिकरण मकवानपुरगढी फ्युज शाखाका इन्चार्ज मोहन दाहालसँग प्रतिक्रिया लिँदा उनले बर्खाको समयमा पोलहरू लड्ने समस्या देखिएको स्वीकार गर्दै एक–दुई दिनभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *