
मकवानपुरगढी , Covid 19 अर्थात् कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न परिवार लाई दैनिक छाक टार्न समस्या भएको भन्दै मकवानपुरगढी गाउँपालिकाले खाद्यान्न राहत वितरण गरेको छ ।
राहत वितरणलाई सहज तथा पारदर्शी गराउने उदेश्यले राहत वितरण कार्यविधि २०७६ तयार गरिएको र सोही कार्यविधि बमोजिम ३८७ घर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको र वडा नं ८ बाट नाम लिस्ट आउन बाकी रहेेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताउनु भयो । ३ जनासम्म परिवार संख्या भएको परिवारलाई चामल १० केजी , दाल २ केजी , नुन १ पाकेट र तेल आधा लिटर , यसैगरी ४ देखि ५ जना परिवार संख्या भएको परिवारलाई चामल १५ केजी , दाल ३ केजी , नुन २ पाकेट र तेल १ लिटर वितरण गरिएको छ । ५ जना भन्दा धेरै परिवार संख्या भएकालाई प्रती परिवार चामल २५ केजी , दाल ४ केजी , नुन ३ पाकेट र तेल १.५ लिटर वितरण गरिएको अधिकृत पुडासैनीले बताउनु भयो ।
राहत वितरणमा उपयुक्त परिवार छनौट गर्नको लागि वडाहरुमा गठन गरिएका टोल विकास संस्थाहरु सँग सहजीकरण गरि नाम संकलन गरिएको वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेले बताउनु भएको छ ।
राहत वितरणका लागि यस अघि नै राहत कोष खडा गरिएको र सो कोषमा जनप्रतिनिधिले राज्यबाट पाउने १५ दिनको सुविधा , अधिकृत स्तरका कर्मचारीहरुबाट ५ दिन र सहायक स्तरका कर्मचारीहरुबाट ३ दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय गरिएको थियो । साथै ईच्छुक ब्यक्ति , उद्योग , ब्यापारी , संघ-संस्थाहरुसँग सहयोगका लागि अनुरोध समेत गरिएको थियो ।
