नेपाल पत्रकार महासंघ मकवानपुरले उद्योग संघ र मकवानपुर उद्योग वाणिज्य संघसंग सोमबार छलफल गरेको छ । जिल्लामा संञ्चालित मिडियालाई समानुपातिक विज्ञापन वितरण गरिनुपर्ने उद्धेश्यले महासंघले जिल्लाका दुई ठुला संघसंग छलफल गरेको हो ।
पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम नेतृत्वमा गएको टोलीले प्रदेश राजधानी हेटौंडामा अवस्थित बहुराष्ट्रिय कम्पनी र ठुला उद्योगले ठुला सञ्चार गृहलाई मात्रै विज्ञापन दिने र स्थानियस्तरमै सञ्चालित मिडियालाई विज्ञापन दिन हिच्किचाउने प्रवृत्तिको अन्त्य गरी सवैलाई समानुपातिक ढंगबाट विज्ञापन वितरण गरिनुपर्ने माग गरेका छन् । टोलीले जिल्लाका समाचार ठुला मिडियामा आउने नै जिल्लाका पत्रकारबाटै भएकाले पनि पहिलो प्राथमिकतामा यहाँका मिडियालाई दिइनुपर्ने माग राखेका हुन् ।
छलफलमा उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले उद्योगहरु पनि मिडियामैत्री हुन चाहेको बताए । त्यसका लागि पत्रकारबाट सदैब सकरात्मक समाचारको अपेक्षा उद्योग संघले गरेको उनले बताए । उनले भने- “ यहाँको औद्योगिक विकास र सञ्चार माध्यमको उत्थानका लागि उद्यमशिलतालाई उद्योगसंग जोड्न सकरात्मक समाचारको हामी अपेक्षा गर्छौ ।”
अध्यक्ष पोखरेलले यहाँका उद्योगले उत्पादन गरेका बस्तुको समाचार प्रकाशन/प्रशारण गरिदिए त्यसले विज्ञापनकोभन्दा ठुलो भूमिका खेल्ने दाबी गरे । अध्यक्ष पोखरेलले भने – “ कुनै उद्योगको लन्चिङ हुन्छ, त्यसको समाचार प्रशारण/प्रकाशित गरिदिनुहुन्छ, बजारमा त्यसको प्रभाब बढ्दै जादाँ मकवानपुरको पत्रकारीताले यति ठुलो बजारमा प्रभाब छाडेको छ भने किन हामी उनीहरुलाई विज्ञापन नदिने भन्ने कुरा आउछ , यसरी पनि दुईबीच आपसी सम्बन्ध बढाउन सकिन्छ । ”
उनले कुनै उद्योगको अनुगमन तथा बन्द गर्ने भन्ने विषयमा मात्र केन्द्रित भएर समाचार संकलन गर्दै हिड्नुभन्दा नयाँ उद्योग खुलेको र उद्योगले उत्पादन गरेका बस्तुहरुबारे पनि समाचार संकलन गरिदिन आग्रह गरेका छन् ।
संघका वरिष्ठ उपाध्यक्ष स्वागतराज प्याकुरेलले नकरात्मक समाचारको मात्रै चर्चा-परिचर्चा भैरहदाँ त्यसले मझौला उद्योगहरुलाई समेत प्रभाव पारिरहेको बताए । उनले औद्योगिक क्षेत्रभित्रका सकरात्मक समाचारलाई बढीभन्दा बढी प्राथमिकता दिनुपर्ने बताए । उनले उद्योगले उत्पादन गरेका कुनै बस्तु ठुला समाचारको पहिलो पृष्ठमा प्रकाशित भएपछि मात्र राष्ट्रिय रुपमा त्यस बस्तुको लन्च भएको मान्ने सोच उद्योगीहरुमा कायमै रहेकाले पनि स्थानिय मिडियालाई समेट्न नसकिएको जिकिर गरे । उनले आगामी दिनमा दुबै संस्थाबिच अन्तरसम्बन्ध कायम राख्ने विषयमा छलफल जारी रहने पनि बताए । छलफलमा उद्योग संघका महासचिव बासु कार्की लगायतको सहभागीता रहेको थियो ।
यसैबिच, स्थानिय मिडियालाई समानुपातिक विज्ञापन वितरणका विषयमै मकवानपुर उद्योग वाणिज्य संघका प्रतिनिधिसंग पत्रकार महासंघ मकवानपुरले छलफल गरेको छ । सोमबार नै भएको छलफलमा पत्रकार महासंघले उद्योग वाणिज्य संघलाई स्थानिय मिडियालाई उत्थान गर्न विज्ञापन दिन तदारुकता देखाउन आग्रह गरेका छन् ।
छलफलमा उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले केहि समयदेखि मिडिया र संघबीच मिडियामैत्री बातावरणमा कमी देखिएको बताए । पछिल्लो समय अनलाइन मिडिया व्यापक भैदिदाँ एउटालाई दिने र अर्कोलाई नदिने भन्ने विवाद चर्किदा विज्ञापनमा खासै जोड्न नसकिएको अध्यक्ष अग्रवालको भनाई छ । उनले एकद्वार प्रणाली भइदिए विज्ञापन बाँडफाँडमा सहजता हुने पनि जिकिर गरे । साथै संघ र महासंघबीचको यस छलफलले आगामी दिनमा स्थानिय मिडियालाई प्राथमिकता दिन तयार रहेको पनि उनले जिकिर गरे ।
छलफलमा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, एशोसियट तर्फका अर्का उपाध्यक्ष उज्वल चौलागाई र महासचिव दिपक उप्रेतीले स्थानिय मिडियामा समानुपातिक विज्ञापन वितरणका विषयमा आगामी बैठकमा वृहत छलफल चलाइने बताए ।
छलफलमा पत्रकार महासंघका तर्फबाट उपाध्यक्ष धुब्र अधिकारी, अर्का उपाध्यक्ष सरला अधिकारी, सहसचिव एमपी शर्मा, सदस्यहरु रुपा गुरुङ, बिजयी पौडेल, नवराज वाइवा, बलराम पुडासैनी, सिर्जना नेपाल लगायतकाको सहभागिता रहेको थियो ।