एमपी शर्मा
९ फागुन २०८०
नेकपा एमालेका सचेतक महेश बर्तौलाले मकवानपुरगढी गाउँपालिकामा शिवम् सिमेन्ट उद्योगले अव्यवस्थितढंगबाट र मापदण्डभन्दा बाहिर गएर खानी सञ्चालन गर्दा मानवीय बस्तीमा जोखिम बढेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा उनले शिवम् सिमेन्टको मकवानपुरगढी–७, सुकौरास्थित खोटार र वडा नम्बर–८ मा सञ्चालित खानीले ओभरबर्डन सामरी खोलामा फ्याँक्दा सुकौरा, डुम्रेकुना, धमिले, झल्ला, चौकीटोललगायत क्षेत्रको मानववस्ती, खेतीयोग्य जमिन, विद्यालय, खानेपानीको मुहानमा असर पुर्याउने भन्दै संसद्को ध्यानाकर्षण गराए ।
उनले आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालित शिवम् सिमेन्टको खानीले आफ्नो निर्वाचन क्षेत्रका जनता जोखिममा परेको भन्दै खानी अध्ययन गरेर समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाउनसमेत माग गरेका छन् । उनले देशभरका सिमेन्ट उद्योगको खानीले पुर्याएको समस्या अध्ययन हुनुपर्ने बताए ।
मकवानपुरगढी गाउँपालिकाको खोटारमा शिवम् सिमेन्टले खानी सञ्चालन गरिरहेको छ । मापदण्डविपरीत सञ्चालन गरिरहेको खानीले आफ्नो खानीबाट निस्किएको ओभरबर्डनलाई अव्यवस्थितढंगबाट जथाभावीरुपमा सामरी खोलामा फाल्दा ठूलो मानववस्ती जोखिममा छ । ‘सुकौरा, कुर्ले, डुम्रेकुना, धमिले, झल्ला, धादिङ, चौकीटोल, लालझाडी, चाइनाक्वार्टरलगायत ठूलो मानववस्ती, विद्यालय, खेतीयोग्य जमिनमा संकट उत्पन्न हुने गरी खानी उत्खनन् भइरहेको छ । यी सबै नोक्सान हुने खतरामा छ । राजस्वमा समेत गम्भीर चुहावट भएको अवस्था छ । सरकारका प्रशासनिक निकायहरु आँखामा पट्टी बाँधेर बसेका छन् । त्यसकारण, देशभरका यस प्रकारका खानीको अध्ययन र समस्या समाधान गर्न म संसदीय समिति माग गर्दछु,’ उनले भने ।
मकवानपुरगढी गाउँपालिकाको खोटारमा सञ्चालित चुनढुंगा खानीलगायत मकवानपुर जिल्लामा सञ्चालित विभिन्न खानीहरुको सन्दर्भमा खानीक्षेत्रको यथार्थ अवस्थाबारे जानकारी लिनुका साथै खानी सञ्चालनमा भइरहेका गलत क्रियाकलापहरुलाई कसरी प्रभावकारी नियमन गर्ने भन्नेबारे खानी विभागका महानिर्देशक र उपमहानिर्देशकहरुसँग छलफल भएको उनले बताए ।
खोटार खानीसँग सम्बन्धित विषयहरुमा खानी विभागमा पेश भएका केही डकुमेन्ट अध्ययन गर्दा पालिकाको नेतृत्वले जानकारी पाउनुपर्ने वा प्रमाणित गर्नुपर्ने तहका कतिपय विषयवस्तुहरुमा समेत खानीक्षेत्रका केही वडा अध्यक्षहरुले सत्य र तथ्य भन्दा बाहिर गएर आफ्नो जिम्मेवारी सकारात्मकढंगले बहन नगरेको केही गम्भीर तथ्यसमेत देखापर्नु असाध्यै दुःखद् विषय हो,’ उनले भने ।
मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामास्यांतानको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिसहितको टोलीले मंगलबार खानी क्षेत्रको अनुगमन गरेको थियो । खानीमा चुनढुंगा उत्खनन् गर्ने क्रममा मापदण्डविपरीत फालिएको ओभरबर्डनले खोला पुरिएको पाइएको थियो । गाउँपालिका अध्यक्ष स्यांतानले उद्योगलाई पटकपटक सचेत गराउँदा पनि अटेर गरेको बताए । अनुगमन टोलीले खानीक्षेत्रबाट निस्किएको ओभरबर्डन सीधै खोलामा फाल्ने शिवम् सिमेन्टको गैरजिम्मेवार कार्य भएको र कारबाहीका लागि सरोकारवालाको ध्यानाकर्षण गर्ने निष्कर्ष निकालेको थियो । ओभरबर्डनलाई उद्योगले सुरक्षित ठाउँमा डम्पिङ गरेर राख्न र रोयल्टी नियमअनुसार पालिकालाई बुझाउन ताकेता गरेको तथा ओभरबर्डन हटाउन उद्योगले अटेर गरेको अध्यक्ष स्यांतानले बताए ।
खानीक्षेत्रको राजस्व खानी विभागले संकलन गर्ने, संकलित रकमको ५० प्रतिशत् संघीय सरकार, २५ प्रतिशत् प्रदेशले राखेर २५ प्रतिशतमात्र स्थानीय सरकारले लिने गरेको छ । नीतिगत् समस्याका कारण केन्द्र सरकारको अनुमतिलाई देखाएर स्थानीय सरकारलाई उद्योगले अटेर गर्दै आएको अध्यक्ष स्यांतानले बताए ।
यसबीच, मकवानपुरगढी गाउँपालिकाले वडा नम्बर–७ मा शिवम् सिमेन्ट उद्योगबाट सञ्चालन भएको खोटार खानी उत्खनन् गर्दा निस्केको ओभरबर्डन सीधै खोलामा फालिएको गाउँपालिकास्तरीय सर्वदलीय अनुगमनबाट देखिएको भन्दै खोटार खानी उत्खनन् गर्दा निस्किएको ओभरबर्डन व्यवस्थित गर्न र खोलामा नझार्न निर्देशन दिइएको छ । ओभरबर्डन बिक्री गर्दा खानी नियमावलीअनुसार प्रत्येक सवारीसाधनमा रसिद नभेटिएको हुँदा ओभरबर्डन बिक्री बितरण गर्दा अनिवार्यरुपमा कर रसिदको व्यवस्था गर्न अनुरोध गरिएको छ । बिनारसिदका सवारीसाधन भेटिए जरिवाना गर्ने गाउँपालिकाले शिवम् सिमेन्ट उद्योगलाई लेखेको पत्रमा जनाएको छ ।