मकवानपुरगढी । कोभिड १९ अर्थात् कोरोना भाइरसका कारण अहिले देशभर लकडाउन भइरहेको छ र अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द छ । गत चैत्र ११ गते देखि गरिएको लकडाउन आउँदो जेठ ५ गतेसम्मको लागि जारी राखिएको छ र पछिल्लो समयमा संक्रमितको संख्या बढ्दै गएका कारण लकडाउन अवधि थप लम्बिने अनुमान गरिएको छ ।
यसैबीच सरकारको पछिल्लो निर्णयमा विभिन्न प्रकृतिका ४२ उद्योगहरु संचालन गर्ने भनिए संगै विकास निर्माणमा आवश्यक पर्ने उद्योगहरु पनि संचालन भएकोले आवश्यक सुरक्षा अपनाउँदै स्थानीय जनशक्तिको प्रयोग गरि मकवानपुरगढी गाउँपालिकाले विभिन्न विकास निर्माणका कामलाई जारी राखिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाँईले बताउनु भएको छ । संघीय , प्रदेश तथा स्थानीय तहबाट विनियोजित भएका विभिन्न योजनाहरुका कामलाई निरन्तरता दिइएको हो ।
पर्यटकीय क्षेत्र , स्वास्थ्य संस्थाका भवन निर्माण , पुल , मोटरबाटो लगायतका असार मसान्तसम्म सकिसक्नु पर्ने कामलाई निरन्तरता दिइएको तथा निर्माणमा आवश्यक पर्ने जनशक्ति बाहिर बाट ल्याउनु पर्ने भए पनि विधि र प्रक्रिया पूरा गरि ल्याई कामलाई निरन्तरता दिईने अध्यक्ष हुमागाँईले बताउनु भयो ।