बागमती प्रदेश अन्तरगतका जिल्ला दुग्ध सहकारी संघका प्रतिनिधिहरुले विभिन्न माग राख्दै बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् ।
मकवानपुर जिल्ला दुग्ध सहकारी संघको नेतृत्वमा वर्तमान समयमा भएको दुग्धजन्य पदार्थको बिक्रीमा आएको समस्या समाधानको माग गर्दै मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्रमा उपादित दुग्धजन्य पदार्थको बजारिकरण सुनिश्चित गर्नुपर्ने, नियमित भुक्तानीको ब्यवस्था मिलाउनुपर्ने, उत्पादनमा आधारित अनुदान विगत भन्दा कम नहुने गरी व्यवस्था गर्नुपर्ने, साथै उल्लेखित दोहोरोपन भन्ने शब्द हटाउनुपर्नेलगायतको माग गरिएको छ ।
सो क्रममा मन्त्री श्रेष्ठले कृषकहरुको मागका सम्बोधन गर्ने प्रतिबद्धता जनाए । उनले छिट्टै प्रदेश सरकारको लगानीमा हेटौंडा–१० मा निर्माण हँुदै गरेको पाउडर प्लान्ट तयार भएपछि दुग्ध क्षेत्रमा आउने समस्या समाधान हुने बताए ।
ज्ञापनपत्र बुझाउने क्रममा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले, सिन्धुली जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नवराज गजुरेल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष अर्जुन देवकोटा, सहायक ब्यवस्थापक दामोदर अधिकारी लगायतको सहभागिता रहेको थियो ।