मंसिर ३, २०७८
बागमती प्रदेशका सामाजिक विकासमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कुमारी मोक्तानले परिवर्तनका पक्षधर पत्रकारहरुले देश र जनताको पक्षमा पार्टीले गरेका संस्थागत निर्णयहरुलाई प्रचारप्रसार गर्नुपर्ने बताउनुभएको छ । मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा प्रेस सेन्टर मकवानपुरको पाँचौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले यस्तो बताउनुभएको हो ।
‘परिवर्तनको पक्षमा रहेका पत्रकारहरुले धेरै गर्नुपर्छ भनेका छैनौं’, मन्त्री मोक्तानले भन्नुभयो देश र जनताको हितमा पार्टीले कयौं राम्रा कामहरु गरेका छन् । पार्टीका तिनै संस्थागत निर्णयहरु जनतासम्म पुर्याउन सकियो भने धेरै हुन्छ ।’ चल्दै नचलेको रेलको प्रचार गरेर केपी ओली पार्टी चलाएको भन्दै मन्त्री मोक्तानले आफ्ना नेतृत्व र माओवादीले गरेका कामहरु यस पार्टीसँग आस्था राख्ने पत्रकारहरुले स्पष्ट रुपमा जनतासामु लानुपर्ने बेला आएको बताउनुभयो । एमसीसी माओवादीले रोकेको स्पष्ट हुँदाहुँदै सार्वजनिक रुपमा यसो भन्न नसक्नु माओवादी पक्षधरहरुको कमजोरी भएको उहाँको भनाई थियो ।
पार्टी र यसका नेतृत्व प्रचण्डलाई १७ हजार मानिसको हत्यारा भन्ने प्रश्न उठिरहेको सन्दर्भमा मन्त्री मोक्तानले यसको सम्पूर्ण दोष तत्कालीन राज्यसत्तालाई जाने बताउनुभयो । मुलुकको हीतमा केही एजेण्डाहरु उठाउँदा तत्कालीन अवस्थामा राज्यले आम नागरिकमाथि प्रतिबन्ध लगाएको र मानिसहरुलाई हत्या गरेकोले १७ हजार मारिनुमा राज्यपक्ष जिम्मेवार भएको उहाँको दाबी छ । राष्ट्र र राष्ट्रियताको पक्षमा माओवादीले गरेका कामहरु खोज्ने हो भने समाचारका विषयहरु प्रशस्त निस्कने मन्त्री मोक्तानको भनाई थियो ।
प्रेस सेन्टरको अधिवेशनलाई शुभकामना दिँदै मन्त्री मोक्तानले एकबद्ध भएर संगठन अघि बढाउनु सुझाव दिनुभयो । सेन्टरका सदस्यहरुलाई निर्धक्क भएर सत्यतथ्य खोजी गरी लेख्न आग्रह गर्दै उहाँले आवश्यक परेको बखत पार्टीबाट जस्तोसुकै सहयोग गरिने बताउनुभयो ।