१५ साउन २०७९ मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १३ का जगत बहादुर सुनारले आफ्नो जग्गा फिर्ता गराई पाउँ भनि सरोकार वाला निकायमा सहयोगको अपिल गर्नु भएको छ।आईतबार जिल्ला प्रशासन कार्यालय प्रमुख (प्रजिअ) राजेन्द्र देव पाण्डे र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमको कार्यकक्षमा भेटी सहयोगको अपिल गर्नुभएको हो।
हेटौडा १३ निवासी जगतबहादुर सुनारको बाबुको नाममा रहेको जग्गा २०५४ साल बैशाख १९ मा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ३ बस्ने नियमराज शाक्यबाट ब्यवसायको क्रममा रु ५०,००० ऋण सापटी लिई दृष्टि बन्धक रोक्का राख्ने भनि सहमती भई मालपोत कार्यालयमा जाँदा निज नियम राज शाक्यले अनपढ बुवालाई झुक्याई राजीनामाको लिखत लेखी लेखाई बुवालाई बिश्वास दिलाई पछि रकम बुझीलिएका बखत जग्गा फकुवा गर्नेछु भनि बिश्वासमा पारी उक्त जग्गा दृष्टिबन्धकी भनि राजीनामा लिखत गरी राखेको अवस्थामा रहेको पिडित सुनारले बताउनुभयो।
पिता पदम लाल सुनारको २०६३ सालमा मृत्यु हुँदाको समय सम्म रकम चुक्ता गरी रोक्का फुकूवा गर्न पटक पटक प्रयास गरी आएकोमा निज शाक्यले मालपोत कार्यालयमा गई एक पटक राजिनामाको लिखत लेखाई सके पश्चात रकम बुझीलिई जग्गा फिर्ता गर्नुपर्नेमा पछि ब्याजको बिषयमा बिवाद गरी मोठ रोक्का भिडाई जग्गा भने फिर्ता नदिई गएको पिडित सुनारको भनाई छ।
निज शाक्यलाई पटक पटक भेटगरी तपाईले राखेको धितो स्वरुपको जग्गा हामिलाई नामसारी गरीदिनुहोस,रकम हिसाब गरी चुक्ता गर्नेछु भनि अनूरोध गदै आएता पनि निजले भने आजभोली भनि समय ब्यतित गर्दै आउने गरको पिडित सुनारको भनाई छ। सम्मान पूर्वक बाच्न पाउने र सम्पत्तिको आर्जन,भोग र संरक्षण गर्न पाउने हक प्रत्येक नेपाली नागरीकलाई संबिधानले नै प्रत्याभुत गरेको अवस्थामा निज बिपक्षीले भने बिभिन्न ब्यक्तीहरु पठाई जग्गा खाली गर्न तथा जोत कमोद नगर्न भनि धाँक धम्की दिने र जिउज्यान समेत लिन सक्ने अवस्था बनाई आफू र आफ्नो परिवारलाई मानसिक यातना दिई आएको हुनाले सुनारले आफ्नो परिवारको शान्ती सूरक्षाको उचित प्रबन्ध गराईदिन र उक्त पैतृक हकभोगको सम्पत्ति बिपक्षीबाट फिर्ता दिलाई पाउन आवश्यक कार्य गरी दिनको लागी सम्बद्ध सरोकारवाला निकायहरुमा अपिल गर्नु भएको छ।