हेटौँडा । मोटरसाईकलको ठक्करबाट हेटौँडामा एकजना प्रहरीको मृत्यु भएको छ भने दुईजना प्रहरी सहित मोटरसाईकल चालक पनि घाईते भएका छन् । बुधबार बिहान हेटौँडा–नवलपुर सडकखण्ड अन्र्तगत थानाभर्याङ क्षेत्रमा फिजिकल ट्रेनिङको लागि दौडिरहेको प्रहरीको टोलीमाथि मोटरसाईकलले ठक्कर दिएको थियो । हेटौँडाबाट नवलपुर जाँदै गरेको ना ४ प २२२ नंबरको मोटरसाईकल ठक्करबाट दौडिरहेका प्रहरी जवान डडेलधुरा अलिताल गाउँपालिका वडा नंबर ६ का २५ वर्षीय विनोद एडीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाईते भएका एडीको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा थप दुईजना प्रहरी पनि घाईते भएका छन् भने मोटरसाइकल चालक पनि घाईते भएका छन् ।
घाईते हुनेमा प्रहरी जवान नवराज सार्की र प्रहरी जवान विजय खत्री रहेका छन् । मृतक र घाईते तिनै जना बागमती प्रदेश प्रहरी गणमा कार्यरत थिए । अर्का घाईते मोटरसाईकल चालक हेटौँडा ४ का ४१ वर्षीय गणेश लामालाई थप उपचारको लागि चितवन पठाईएको प्रहरीले जनाएको छ ।