पालिका स्तरिय फुटसल प्रतियोगितामा प्रथम हुने देविडाँडा युवा क्लबका खेलाडीहरुलाई क्लबद्वारा सम्मान ।

५ कार्तिक,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्गशिल्ड फुटसल प्रतियोगिता २०७९ मा प्रथम स्थान हाँसिल गरेको मकवानपुरगढी-३ मा रहेको देविडाँडा युवा क्लबले आफ्ना खेलाडीहरुलाई सम्मान गरेको छ । क्लबले शनिबार देविडाँडामा एक कार्यक्रमको आयोजना गरि खेलाडीहरुलाई सम्मान गरेको हो ।

क्लबका अध्यक्ष अजय दाहालको अध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि एवम् पालिका अध्यक्ष स्याङ्तानले खेलाडीहरु राष्ट्रका गहना हुन् भन्दै खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले आवश्यक कार्य गर्ने बताउनुभयो । खेल खेल्नको लागि आवश्यक चौर समेत नभएकोले चाँडै नै उपयुक्त स्थान छनौट गरि खेल मैदान तयार गरिने उहाँले बताउनु भएको छ ।

कार्यक्रमका बिशिष्ट अतिथि वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेले आफ्नो वडाको क्लबले रनिङ्गशिल्ड फुटसल प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्दा आफुलाई गर्व लागेको बताउनुभयो । साथै आगामी वर्ष हुने प्रतियोगिताको लागि समेत समय देखि नै तयारी गर्न खेलाडीहरुलाई आग्रह गर्दै आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।
क्लबले आउँदै गरेको शुभ दिपावली, छठ पर्व लगायतका पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान सहित खेलाडी सम्मान कार्यक्रम राखेको हो । खेल क्षेत्र लगायत क्लबका विविध गतिविधिमा राज्यका तिनै तहका सरकारबाट सहयोग प्राप्त हुनेमा आफुहरु आशावादी रहेको क्लबका उपाध्यक्ष समीर दाहालले बताएका छन् ।
कार्यक्रममा नेकपा माओबादी केन्द्रकी केन्द्रीय सदस्य प्रमिला पुलामी लामा, चन्डिका मा.बि का प्रधानाध्यापक कमल फुयाल , सरस्वती आधारभुत बिध्यालय ब्यबस्थापन समितिका कार्यबहाक अध्यक्ष भोलानाथ दहाल लगायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा क्लबलाई आर्थिक सहयोग गर्ने सहयोगीदाता,सुरक्षाकर्मी,पत्रकार लगायतलाई सम्मान गरिएको थियो । मकवानपुरगढी ३ मा रहेको गढी स्टार स्पोर्ट्स क्लबले हरेक वर्ष शुभ विजया दशमीको अवसर पारी रनिङ्गशिल्ड फुटसल प्रतियोगिताको आयोजना गर्ने गरेको छ ।

Flash News Slide Uncategorized खेलकुद समाचार स्थानीय