बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार दुध बिक्री समस्या सम्कन्धि सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रम नागरिक समाज समिति समकवानपुरको आयोजनामा भएको हो । कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित पल्पसा सभागृहमा भएको हो ।
कार्यक्रमका मुख्य संयोजक गुञ्जनबहादुर न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्यद्वय महेश बर्तौला, दीपक बहादुर सिंह, बागमती प्रदेश सभा सदस्यद्वय भारती पाठक, एकालाल श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उनीहरुले वर्तमान सरकारले किसानका समस्यालाई समाधान गर्न जिम्मेवार नबनेकोे आरोप लगाएका थिए । उनीहरुले यसअघि फैलिएको लम्पी स्किन रोगलाई सरकारले बेलैमा रोकथाम गर्न नलाग्दा किसानहरुले गाईवस्तु र दूध उत्पादनमा धेरै मूल्य चुकाउनुपरेको उल्लेख गरेका थिए ।
सरकारले तत्काल दूधलाई व्यवस्थापन गर्न पाउडर प्लान्ट बनाउन कदम चाल्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अन्तरक्रियामा सरकारपक्षका कोही पनि मन्त्री, सांसद र जनप्रतिनिधि उपस्थित नभएर गैरजिम्मेवार बनेको आरोप लगाए ।
यस्तै, सो क्रममा दुग्ध सहकारी संघ मकवानपुरका व्यवस्थापक कुमारमणि दाहाल र कार्यक्रम संयोजक सन्दीप सापकोटाले बाहिर जिल्लाबाट अवैध रुपमा दूध बिक्री हुन थालेपछि मकवानपुरका दूधले बजार नपाएको गुनासो गरे ।
उनीहरुले किसानको समस्या समाधान गर्न राज्यका निकायले भूमिका निर्वाह नगरेको भन्दै अहिले किसानहरुले उत्पादन गरेको दूध बेच्न सक्ने अवस्था नरहेको बताएका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईँ, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनायका निर्देशक डा. गौरीमान श्रेष्ठ र नेपाल डेरी एसोसिएसन मकवानपुरका अध्यक्ष राजकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।