कोरोना भाइरसको संक्रमण प्रदेशमा फैलन नदिन सवै खालका तयारी – मुख्यमन्त्री पौडेल हेटौंडामा ५ सय वेडको क्वारेन्टाइन स्थापना गरीने ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कोरोना भाइरसको संक्रमण प्रदेशमा फैलन नदिन सवै खालका तयारी गरिएको वताउनुभयो । यसका लागि सवै मन्त्रालय र मातहतका कार्यालयलाई जुट्न पनि आग्रह गर्नुभयो । बागमती प्रदेशको विपद् व्यावस्थापन निर्देशक समितिको बैठक मुख्यमन्त्री पौडेलले यस्तो बताउनु भएको हो ।

बैठकमा प्रदेशका मन्त्रीहरु, सचिवहरु, सुरक्षा निकायहरु, स्वास्थ्य संस्थाले कोरोना बच्नका लागि गरेका तयारीका विषयमा जानकारी गराएका थिए ।

कोरोना भाइरस व्यवस्थापन गर्न बाग्मती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय मार्फत ५ करोड खर्च गर्ने निर्णय गरेको छ । यस्तै प्रदेश भित्रिने नाकाहरूमा स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क स्थापना र सञ्चालन गर्ने समेत निर्णय भएको छ ।

सार्वजनिक यातायातका सवारी साधनहरूमा सिट क्षमता भन्दा बढी यात्रु ओसार–पसार गर्न नदिने समेत निर्णय भएको छ भने चल्न अघि निर्मलीकरण र जसको अनुगमन प्रदेश प्रहरी कार्यालयबाट हुने बताइएको छ ।

बाग्मती सरकारले कोरोनाको त्रास कम गर्न प्रदेश स्तरीय कोरोना नियन्त्रण समिति, स्वास्थ्य व्यवस्थापन समिति र बजार अनुगमन उच्च स्तरीय समिति गठन भएको हो । प्रदेश स्तरीय कोरोना नियन्त्रण समितिमा आन्तरिक मामिला तथा कानून मन्त्रीको संयोजकत्वमा आर्थिक मामिला तथा योजना मन्त्री, सामाजिक विकास मन्त्रालय मन्त्री सदस्य रहेका छन् ।

यस्तै सदस्यहरुमा मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार, प्रमुख सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, सामाजिक विकास मन्त्रालयका सचिव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, हेटौंडा स्थित प्रदेश स्तरीय कार्यालयका प्रमुखहरू, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सदस्य सचिव रहने निर्णय भएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगलेलले जानकारी दिएका छन् ।
प्रदेशका सवै जिल्लामागरी २ सय वेड आइसोलेसन स्थापना गर्ने भएको छ । प्रदेश राजधानी हेटौंडामा मात्र एक सय वेडको आइसोलेसन अस्पताल स्थापना गर्न लागिएको हो । यसैगरी हेटौंडामा ५ सय वेडको क्वारेन्टाइन स्थापना गर्न लागिएको प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले वताउनुभयो ।

समाचार