एम पि शर्मा
११ असार २०८०
मकवानपुरगढी गाउँपालिकाले पर्यटकीय क्षेत्रको बिकासमा जोड दिने भएको छ । आर्थिक बर्ष २०८०/ ८१ को निति तथा कार्यक्रममा पर्यटकीय क्षेत्रको बिकासका लागि पर्यटन बिकास समिति गठन गरेर काम गरिने उल्लेख गरिएको छ ।
मकवानपुरगढी गाउँपालिकामा रहेको ऐतिहासिक मकवानपुरगढी दरवार, मनकामना मन्दिर, सहिद रुद्र पाख्रिन स्मृति पार्क, पशुमैत्री पार्क, ढुङेगढी , रानीबास एग्रो टुरिजम पार्क, ऋषेश्वर गुफा, ऐतिहासिक हेलिग्राफ, बि.पि. पर्यटक पार्क, धनडाँडा मातातिर्थ मन्दिर तथा अदालत डाँडा लगायत उच्च पर्यटकीय सम्भावना बोकेको क्षेत्रको बिकासमा जोड दिईने निति तथा कार्यक्रमा उल्लेख गरिएको छ ।
मकवानपुरगढी गाउँपालिकाका महत्वपुर्ण पर्यटकीय क्षेत्रका आसपास होमस्टे,गेष्ठ हाउस तथा ठुला होटलहरु सञ्चालन गर्न लगानिकर्ताहरुको खोजी गरिने साथै सानो गढीमा प्याराग्लाईडिङको सम्भाब्यता अध्यायन तथा परिक्षण उडान गर्न पहल गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
मकवानपुरगढी १ मा रहेको रानीबास एग्रो टुरिजम पार्कमा मकवानपुरगढी कला संग्राहलय स्थापना गर्न पहल गरिने पनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै मकवानपुरगढीको सामरी पुल देखि डुम्रेकुना सम्मको सडकलाई ब्यबस्थित गरी सडकको दुबै छेउमा वृक्षारोपण गरी हरित सडक निर्माणमा जोड दिइने भएको छ । साथै बाह्य पर्यटकलाई आकर्षण गर्न प्रतियोगितात्मक साईकल रेस खेल आयोजना गर्न पहल गर्ने भएको छ ।
यसैगरी भौगोलिक सम्भाब्यता पहिचान गरी मकवानपुरगढीमा मानव निर्मित ताल निर्माण गर्ने पनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । “मकवानपुरगढी गाउँपालिकाको पहिचान, एकिकृत पर्यटकीय अभियान” नारालाई सार्थक बनाउन पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई जोड दिने गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिनले बताउनु भयो ।