२० चैत २०८२
मकवानपुरका निर्माण व्यवसायी सागर कटुवाल ठेक्का ह्याकिङ प्रकरणमा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले सार्वजनिक खरिद प्रणाली ‘bolpatra.com.np’ मा अनधिकृत पहुँच गरी ठेक्का प्रभावित पार्ने गिरोहको अनुसन्धानका क्रममा उनलाई चैत १७ गते राति नियन्त्रणमा लिएको हो।
अनुसन्धान अनुसार प्रतिस्पर्धीका बोलपत्र हेरी अन्तिम समयमा न्यून दर प्रस्ताव गर्ने समूह सक्रिय रहेको खुलेको छ। यसअघि पनि CIBले उक्त प्रकरणमा संलग्न अन्य केही निर्माण व्यवसायीलाई पक्राउ गरिसकेको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड को करिब १० अर्ब रुपैयाँको ठेक्कासहित विभिन्न परियोजनामा अनियमितता भएको अनुसन्धानबाट खुलेको छ।
यता, नेपाल निर्माण व्यवसायी संघको १३ औँ अधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बन्ने तयारीमा रहेका कटुवाल पक्राउ परेपछि उनलाई समर्थन गर्न गएका मकवानपुरका व्यवसायीहरू निराश हुँदै रित्तो हात फर्किएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको CIBले जनाएको छ।

