
२३ चैत २०८२
हेटौंडा । भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको नाममा सर्वसाधारणबाट उठाइएको रकममा गम्भीर अनियमितता भएको भन्दै छानबिनको माग गरिएको छ। सेवा, सहयोग र आवाजमा हामी (SSAH) संस्थाले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिंहदरबारमा औपचारिक ध्यानाकर्षण पत्र बुझाएको हो।
संस्थाका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतको नेतृत्वमा गएको टोलीले नेपाल पूर्वाधार विकास कम्पनीमार्फत सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलमा अघि बढाइएको उक्त परियोजनामा आर्थिक अपारदर्शिता, लापरवाही तथा सम्भावित ठगी भएको उल्लेख गरेको छ।
ध्यानाकर्षण पत्रमा कम्पनीले काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माण गरी छोटो समयमै आवतजावत सहज बनाउने, आर्थिक समृद्धि ल्याउने तथा लगानीकर्तालाई आकर्षक प्रतिफल दिने आश्वासन दिँदै देश–विदेशका नेपालीबाट करिब ३१ करोड ७६ लाख रुपैयाँ संकलन गरेको जनाइएको छ। तर लामो समय बितिसक्दा पनि परियोजनाको कुनै ठोस प्रगति नदेखिएको र संकलित रकमको पारदर्शी विवरण सार्वजनिक नगरिएको भन्दै गम्भीर प्रश्न उठाइएको छ।
“स्थानीय नागरिकले गाई–बाख्रा बेचेर, ऋण काढेर र जग्गा बेचेर समेत लगानी गरेको रकम जोखिममा परेको छ,” ध्यानाकर्षण पत्रमा उल्लेख छ, “कम्पनी सम्पर्कविहीनजस्तै भई लगानीकर्तालाई अन्योलमा पारिएको अवस्था छ, जसले राज्य र निजी क्षेत्रप्रतिको विश्वास कमजोर बनाएको छ।”
संस्थाले तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरी संकलित रकमको यथार्थ विवरण सार्वजनिक गर्न, परियोजनाको वर्तमान अवस्था स्पष्ट पार्न, दोषीलाई कानुनी दायरामा ल्याउन र पीडित लगानीकर्ताको रकम फिर्ता वा क्षतिपूर्ति सुनिश्चित गर्न माग गरेको छ।
मन्त्रालयमा दर्ता भएको उक्त ध्यानाकर्षण पत्र आवश्यक प्रक्रिया पूरा गर्दै कार्यान्वयन तहमा जानेमा विश्वस्त रहेको संस्थाका अध्यक्ष महतले बताए । “जनताको पसिनाबाट जुटेको रकम फिर्ता गराउनु राज्यको दायित्व हो,” अध्यक्ष महतले भने, “सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएर छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउनेमा हामी विश्वस्त छौँ।”

