काठमाण्डौ – देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै बाँकेमा ४७.२ मिलिमिटर पानी परेको छ ।
आज दिउँसो पनि सबै प्रदेशका केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
यसैबीच जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकका नदी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागले विज्ञप्ति निकालेर असार ३ देखि ७ गतेसम्म छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रमा पर्ने भोटेकोशी नदीको जलाधार क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको चीनको प्रहरी कार्यलयमार्फत सूचना प्राप्त भएको जानकारी दिएको छ ।
विभागका अनुसार हालको भूउपग्रह र मौसम विश्लेषणका आधारमा ती क्षेत्रहरूमा मनसुनको प्रभाव रहे पनि कमजोर अवस्थामै रहेको र हल्कादेखि मध्यम वर्षासम्मको सम्भावना रहेको छ ।
यद्यपि मौसममा हुने आकश्मिक परिवर्तन र बाढीजन्य सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभागले निरन्तर अनुगमन गरिरहेको र अद्यावधिक सूचना नियमित रूपमा सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ ।


