भाद्र १७ २०८२
मकवानपुरगढी गाउँपालिकामा यहि भाद्र २० गतेदेखि खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ। प्रतिभा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्देश्य जिल्लामा फुटसल खेलको विकास, खेलाडी उत्पादन तथा क्षमतावृद्धिका साथै आपसी भाइचाराको सम्बन्ध विस्तार गर्नु रहेको आयोजकले जनाएका छन्।
कार्यक्रम संयोजक निराज ठकुरीका अनुसार प्रतियोगितामा जिल्ला तथा जिल्लाबाहिरका करिब २० उत्कृष्ट फुटसल क्लबहरूको सहभागिता रहनेछ।
प्रतियोगिताको विजेता टिमले नगद रु ६६,६६६ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु ३३,३३३ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले जनही रु ५,००० रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने विभिन्न निकाय तथा संघसंस्थाबाट सहयोग प्राप्त भइरहेको संयोजक ठकुरीले जानकारी दिए।

