रम्तेल र राईलाई रेडियो मकवानपुरको सामुदायिक सम्मान


हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल र हेटौंडाकी अग्रज महिला उद्दमी ताराकुमारी राईलाई रेडियो मकवानपुरले सामुदायिक सम्मान प्रदान गरेको छ । रेडियो मकवानपुरको १६ औं वार्षिकोत्सव एवम् रेडियोको सञ्चालक संस्था दिव्यतारा सहकारीको २८ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापनमा रम्तेल र राईलाई जनही नगद १० हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो । समुदायमा उल्लेखनीय योगदान पु¥याएको भन्दै उनीहरुलाई सामुदायिक सम्मान २०८२ प्रदान गरिएको हो । रम्तेलको अगुवाईमा गुम्बाडाँडा पार्क निर्माण हुनुका साथै हेटौंडा १८ हर्नामाडीमै वैदिक संस्कृत गुरुकुल समेत सञ्चालन भैरहेको छ । गुरुकुलमा दलित तथा गैरदलित बटुकहरुले संस्कृत शिक्षा अध्ययन गरिरहेका छन् । अन्तर्राष्ट्रिय मुर्तीकला कार्यशालाबाट सुरु भएको गुम्बाडाँडा अहिले मकवानपुरको चर्चित पर्यटकीय स्थलको रुपमा रहेको छ । सम्मानित राई विगत साढे २ दशकदेखि सौन्दर्यकर्मीको रुपमा कार्यरत रहेकी छिन् । उनले हालसम्म ६ हजार जना महिलालाई ब्युटिसियनको तालिम प्रदान गरिसकेकी छिन् । धेरै महिलाहरु अहिले पार्लर सञ्चालन गरी स्वरोजगार रहेका छन् । दुवैजनाले सामुदायिक रेडियो मकवानपुरले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै निरन्तर आफ्नो कर्ममा लाग्न मद्दत पुगेको धारणा राखे । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, रेडियो मकवानपुर अध्यक्ष आनन्दराम पराजुली र दिव्यतारा सहकारीका अध्यक्ष लक्ष्मीदेवी श्रेष्ठले नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरेका हुन् । यस्तै रेडियो मकवानपुरको वर्ष कर्मचारी सम्मानबाट रेडियोमा कार्यरत प्राविधिक नविन आले मगर सम्मानित भएका छन् । उनलाई नगद ७ हजार रुपैयाँसहित सम्मान गरिएको हो । रेडियोले वार्षिकोत्सवको अवसरमा २ जनालाई सामुदायिक सम्मान र हरितालिका तीजको अवसरमा २ महिलालाई जागरुक महिला सम्मान प्रदान गर्दै आएको रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।
कार्यक्रममा मेयर लामाले लोकतान्त्रिक गणतन्त्र अभ्यास गरिरहेका नेपालमा जस्ता देशका लागि सञ्चार पहिलो सर्त भएको उल्लेख गर्दै सञ्चारको महत्व असाधारण रहेको बताइन् । उनले सामुदायिक रेडियो सार्वजनिक हितका लागि गैरनाफामूलक उद्देश्यसहित सञ्चालन हुने भएकाले यसको आवश्यकता अझ बढ्दै गएको धारणा राखिन् । पछिल्ला वर्षहरूमा देखिएको आर्थिक मन्दीका कारण सामुदायिक रेडियोहरू पनि प्रभावित भएको र कतिपय रेडियो बन्द हुने अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरिन् । सामान्यतयाः हेर्दा निजी र सामुदायिक रेडियो उस्तै देखिएपनि सामग्री प्रस्तुति र समाजप्रतिको उत्तरदायित्वमा सामुदायिक रेडियो फरक रहेको मेयर लामाको भनाई थियो । रेडियोको प्रभावकारिता इतिहासले प्रमाणित गरिसकेको उल्लेख गर्दै विश्वका युद्धहरू, नेपालका २००७ सालको जनक्रान्ति तथा माओवादी जनयुद्धमा रेडियो प्रयोग भएको उदाहरण दिइन् । उनले युद्धमा मात्र नभई ठूला प्राकृतिक विपद्हरूमा पनि रेडियो प्रभावकारी माध्यम बनेको बताइन् । कार्यक्रममा त्यसगरी वाषिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएको मिडिया कप फुटसल प्रतियोगिताका विजेता टिम टेलिभिजन र उपविजेता नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई नगद सहित ट्रफी प्रदान गरिएको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रक्तदान, संस्कृत वेद विद्यालयलाई खाद्यान्न वितरण, मिडिया कप फुटसल प्रतियोगिता, सञ्चारिका समूहलाई सेनेटरी प्याड वितरण तथा निर्वाचन आचारसंहिता सम्बन्धि अन्तर संवाद लगायतका कार्यक्रम आयोजना गरिएको थियो । दिव्यतारा बहुउद्देश्यीय सहकारीका अध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठको अध्यक्षतमा कार्यक्रम भएको हो । उनले रेडियो मकवानपुर मकवानपुर जिल्लाको दुर्गमदेखि सुगम क्षेत्रसम्मको आवाज बनेको दावी गरिन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुर अध्यक्ष रामहरि न्यौपाने, मकवानपुरका प्रहरी नायव उपरीक्षक पुस्कर बोगटी, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, जिल्ला सहकारी संघ मकवानपुर अध्यक्ष नारायण देवकोटा, हेटौंडा ८ नम्बर वडा अध्यक्ष राम थापा, ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *