
२९फागुन २०८२
मकवानपुर —हेटौंडा १७ हटियामा रहेको शिवम सिमेन्ट उद्योगबाट निस्किएको धुलो–धुवाँ नियन्त्रणका विषयमा पटक–पटक खबरदारी गर्दा पनि समस्या समाधानतर्फ ठोस पहल नभएको भन्दै स्थानीयहरू आन्दोलनको तयारीमा जुटेका छन्। सामाजिक अभियन्ता विशालराज महतले सामाजिक सञ्जाल फेसबुकमार्फत कडा चेतावनी दिँदै अब आन्दोलनको तयारी भइरहेको बताएका छन्।
महतका अनुसार यसअघि शिवम सिमेन्टका प्रतिनिधिसँग दुईपटकसम्म स्पष्ट छलफल गरिएको थियो। धुलो–धुवाँ नियन्त्रण नगरी कुनै पनि सम्झौता सम्भव नहुने कुरा आफूहरूले स्पष्ट रूपमा राखेको उनले बताएका छन्। ती छलफलमा शिवमका प्रतिनिधि, स्थानीय पीडित बासिन्दा, जनप्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको र वार्ताबाट समस्या समाधान गर्ने सहमति भएको उनको भनाइ छ।
तर कम्पनीको तर्फबाट पटक–पटक आलटाल मात्र भएपछि स्थानीय बासिन्दाको उपस्थितिमा आन्दोलनको घोषणा गरिएको महतले बताएका छन्। त्यसपछि बागमती प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण भएपछि उहाँकै रोहवरमा पुनः छलफल भएको उनले उल्लेख गरेका छन्।
सो बैठकमा स्थानीय सरकार तथा वडा कार्यालयको रोहवरमा ७ सदस्यीय समिति गठन गरी वार्ता, अनुगमन र आवश्यक सल्लाह दिने सहमति भएको बताइए पनि आजसम्म उक्त समिति गठन भएको जानकारी आफूहरूलाई नआएको महतको गुनासो छ।
उनले आफूले वडा अध्यक्ष उद्धब सत्याललाई पटक–पटक फोन गरेर समिति गठन गर्न अनुरोध गरे पनि हालसम्म कुनै पहल नभएको बताए। “स्थानीयको मत लिएर आएका जनप्रतिनिधि किन यसरी मौन बसिरहेका छन् भन्ने कुरा अचम्मको विषय बनेको छ,” उनले स्टाटसमार्फत उल्लेख गरेका छन्।
महतले ‘हुन्छ भन्ने तर काम नगर्ने प्रवृत्तिले स्थानीयको विश्वासमाथि खेलवाड गरेको’ आरोप लगाउँदै यत्रो समयसम्म एउटा समिति समेत गठन हुन नसक्नु गम्भीर विषय भएको बताएका छन्।
“अब हामी चुप लागेर बस्ने छैनौँ, आन्दोलनको तयारीमा छौँ,” उनले चेतावनी दिँदै प्रश्न गरेका छन्, “शिवमको शक्ति बलियो कि हाम्रो आवाज? यसको उत्तर अब समयले दिनेछ।”

