
मकवानपुरको हेटौंडा उपमहानगरपालिका मा अवस्थित हेटौंडा अस्पताल विगतदेखि नै अपेक्षित स्तरको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न असफल हुँदै आएको यथार्थ सबै सर्वसाधारण नागरिकलाई विदित नै छ । नागरिकहरूले सहज, सुलभ र भरपर्दो स्वास्थ्य सेवा पाउनुपर्ने आधारभूत अधिकार हुँदाहुँदै पनि सो अस्पतालले दीर्घकालदेखि उक्त जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सकेको छैन ।
वर्तमान अवस्थामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग हेटौंडा अस्पताललाई गाभिएको भए तापनि, सेवाको गुणस्तरमा कुनै ठोस र देखिने सुधार हुन सकेको छैन । बरु, व्यवस्थापन र सञ्चालन पक्षमा समन्वयको अभाव देखिएको छ । अस्पताल र प्रतिष्ठानका कर्मचारीबीच समय–समयमा देखिने विवाद, असमझदारी तथा आन्तरिक खटपटले सेवाग्राहीलाई प्रत्यक्ष असर पुर्याइरहेको छ । यस्तो अवस्था रहिरहेमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको स्वास्थ्य सेवा झनै कमजोर हुने निश्चित देखिन्छ ।
हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान छुट्टाछुट्टै रूपमा सञ्चालन गरिएमा दुवै संस्थाबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना हुने थियो । प्रतिस्पर्धाले सेवा सुधार, जिम्मेवारी बोध तथा कार्यसम्पादनमा प्रभावकारिता ल्याउने निश्चित छ । यसबाट मकवानपुरवासीले गुणस्तरीय, छिटोछरितो र विश्वासिलो स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने थिए । त्यसैले दुवै संस्थालाई अलग–अलग सञ्चालन गर्नु आजको आवश्यकता मात्र नभई अपरिहार्यता बनेको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालन भइरहेको हेटौंडा अस्पतालमा थुप्रै कमी–कमजोरीहरू विद्यमान छन् । उपकरण व्यवस्थापन, औषधि उपलब्धता, सेवा प्रवाह, जनशक्ति व्यवस्थापन लगायतका क्षेत्रमा सुधार गर्नुपर्ने धेरै विषयहरू भए तापनि सम्बन्धित व्यवस्थापन पक्षबाट अपेक्षित सुधारको पहल हुन सकेको छैन । यस्तो अवस्थामा हालको व्यवस्थापन समिति प्रभावकारी देखिँदैन र त्यसको पुनर्गठन वा परिवर्तन तत्काल आवश्यक देखिन्छ ।
यसैगरी, मकवानपुर जिल्लाका अधिकांश नागरिकहरू सामान्यदेखि जटिल स्वास्थ्य उपचारका लागि दैनिक रूपमा चितवन जान बाध्य भएका छन् । यसले समय, खर्च र मानसिक पीडा सबैमा वृद्धि गरेको छ । स्थानीय तहमै गुणस्तरीय सेवा उपलब्ध हुनुपर्नेमा नागरिकलाई अन्यत्र धाउनुपर्ने अवस्था अत्यन्तै दुःखद र चिन्ताजनक विषय हो ।
अर्कोतर्फ, अस्पतालको फार्मेसीबाट स्वास्थ्य बिमा अन्तर्गत प्राप्त हुनुपर्ने निःशुल्क औषधि समेत नियमित रूपमा उपलब्ध नहुनु गम्भीर समस्या हो । यसले गरीब तथा विपन्न वर्गका बिरामीहरूलाई थप मारमा पारेको छ । यस विषयमा सम्बन्धित सरोकारवाला निकायले तत्काल ध्यान दिई आवश्यक सुधारात्मक कदम चाल्न अत्यन्त आवश्यक देखिन्छ ।
अतः माथि उल्लिखित सम्पूर्ण अवस्थालाई मध्यनजर गर्दै हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छुट्टाछुट्टै सञ्चालन गर्ने, व्यवस्थापन सुधार गर्ने तथा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने दिशामा सम्बन्धित निकायले शीघ्र, ठोस र प्रभावकारी निर्णय लिनु अत्यावश्यक भएको स्पष्ट रूपमा व्यक्त गर्न चाहन्छु ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा,हेटौंडा उपमहानगरपालिका–०२, मकवानपुर, मोबाइल/व्हाट्सएप नं.: ९८४८०५५७७६

